कञ्चनपुर।भारत र पाकिस्तानबीचको युद्ध चर्किएपछि छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको कञ्चनपुरमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ।पाकिस्तानी आतङ्ककारी समूहले भारत शासित जम्मु–कश्मीरको पहलगाममा गरेको आक्रमणमा एक नेपालीसहित २९ जनाको ज्यान गएको थियो।
त्यसको बदलामा भारतले २४ बैशाखमा पाकिस्तानमाथि ‘सिन्दूर अपरेशन’ अन्तर्गत हमला गरेको थियो। त्यसयता दुई देशबीच तनाव गहिरिँदै गएको छ।भारतले कञ्चनपुरसँग जोडिएको सीमामा पनि चेकजाँच कडा बनाएको छ।
दक्षिण एसियाका यी दुई शक्तिशाली राष्ट्रबीचको तनावको असर नेपालमा समेत पर्न सक्ने भन्दै सरकारले देशभरका सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाएको हो।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा परिषद् र गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेअनुसार कञ्चनपुरमा पनि सुरक्षा सतर्कता बढाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए।
उनका अनुसार जिल्लाका विभिन्न सीमा नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोलीमार्फत चेकजाँच कडा पारिएको छ। “हामीले नियमित चेकजाँचसँगै थप जनशक्ति परिचालन गरेर मोबाइल गस्ती पनि बढाएका छौं,” उनले भने।कञ्चनपुरका मुख्य नाकाहरू – गड्डाचौकी, दोधारा चाँदनी, बेलडाँडी, बेलौरी, पुनर्वास, डोकेबजारलगायत स्थानहरूमा नेपाल भित्रिने र बाहिरिने दुबै तर्फका यात्रु तथा सवारी साधनको विवरण संकलनसहित चेकजाँचलाई कडा बनाइएको छ।सीमा क्षेत्रमा निगरानीका लागि ४१ वटा मोबाइल टोली परिचालन गरिएको प्रजिअ ढकालले बताए।
“सीमा क्षेत्रमा यात्रु, सवारी साधन सबैको चेकजाँच गर्दै आवागमनलाई पनि सहज बनाएका छौं,” उनले भने, “साथै, कुनै पनि अबाञ्छित वा शंकास्पद व्यक्ति नेपाल प्रवेश गर्न नदिन उच्च सतर्कता अपनाएका छौं।”सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (SSB) ले संयुक्त गस्तीसमेत थालेका छन्।
कञ्चनपुर भारतसँग लगभग १३० किलोमिटर सिमाना जोडिएको जिल्ला हो। नेपालविरुद्ध कुनै पनि गतिविधि हुन नदिन निगरानी, गस्ती र चेकजाँचलाई थप प्रभावकारी बनाइएको जनाइएको छ।

