नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले विश्व प्रेस स्वतन्त्रता दिवस विविध कार्यक्रम गरी भव्य रूपमा मनाएको छ।
“प्रेस स्वतन्त्रता, पत्रकारिता र मिडिया चुनौती” विषयक विचार विमर्श कार्यक्रमको साथै वृक्षारोपण तथा सरसफाइ कार्यक्रम पनि आयोजना गरिएको थियो।
कार्यक्रममा वरिष्ठ पत्रकार खेम भण्डारीले पत्रकारिता आफैँभित्रबाट स्वतन्त्रता प्रभावित भइरहेको उल्लेख गरे। सामाजिक सञ्जालले मूलधारको पत्रकारिता दबिएको र फेक समाचारको बाढीले जनमानस भ्रमित भएको पनि बताए।
प्रेस सेन्टर कञ्चनपुर अध्यक्ष अरुण भट्ट, प्रेस चौतारी अध्यक्ष मदन गिरी, र पत्रकार महासंघका केन्द्रीय सदस्य सुरेश पन्तले पत्रकारिता क्षेत्रका चुनौती, हस्तक्षेप, र श्रमजन्य समस्याहरूमा प्रकाश पारे। जिल्ला शाखा अध्यक्ष सुरेश धामीले सहकार्य र एकताको आवश्यकता औंल्याएका थिए।
कार्यक्रम महासंघका सचिव कुन्दनराज पाण्डेयको सञ्चालनमा सम्पन्न भएको थियो भने सहसचिव गोकुल जोशीले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रमको अध्यक्षता अध्यक्ष धामीले र प्रमुख आतिथ्यता सुरेश पन्तले गरेका थिए।

