बुध, बैशाख २३, २०८३

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ४ दिने आधारभूत खोज तथा उद्धार तालिम


कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका बहुप्रकोपीय दृष्टिकोणले उच्च जोखिममा रहेको क्षेत्र हो । प्रत्येक मनसुनमा यहाँ बाढीका कारण बारम्बार जनधनको क्षति हुने गरेको छ् ।

यसले तत्कालीन मात्र नभई दीर्घकालीन सामाजिक तथा आर्थिक असरहरु पनि पारिरहेको छ् । यस्ता संकटहरुको प्रभाव न्यूनिकरण गर्न र जलवायुजन्य अन्य विपद्बाट प्रभावित समुदायहरुलाई दीर्घकालीन रुपमा सक्षम तथा उत्थानशील बनाउने उद्देश्यले ‘जलवायु उत्थानशील समुदाय (सीआरसी) परियोजना’ सञ्चालनमा रहेको छ् ।

परियोजनाले विपद् पूर्वतयारी, प्रतिकार्य क्षमता अभिवृद्धि तथा स्थानीय तहको सहकार्य मार्फत जोखिम न्यूनीकरणमा योगदान पुर्‍याईरहेको छ् । यसै क्रममा कृष्णपुर नगरपालिकामा चार दिने आधारभूत खोज तथा उद्धार तालिम सम्पन्न भएको छ् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालद्वारा सञ्चालित जलवायु उत्थानशिल समुदाय (सीआरसी) परियोजनाको आयोजना तथा कृष्णपुर नगरपालिकाको समन्वयमा समुदाय स्तरको क्षमता अभिवृद्धिका लागि आधारभूत खोज तथा उद्धार तालिम सफलतापूर्वक सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेशका प्रशिक्षक लक्ष्मण दत्त भट्टले तालिममा बाढी, डुवान, भूकम्प, आगलागी, तातो हावाको प्रभाव र सर्पदंश लगाएतका विपद्को जोखिम कम गर्न सैद्धान्तिक जानकारी र कृत्रिम घटना नमुना अभ्यास मार्फत समुदायलाई सिकाई प्रदान गरिएको बताउनुभयो ।

उहाँले विपद्को प्रत्येक चरणहरु, पूर्वसूचना, उद्धार तथा राहत र पुनस्र्थापनामा समुदायको क्षमता अभिवृद्धि गरिएको जानकारी दिदै यसले आगामी दिनमा विपद् जोखिम न्यूनिकरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रोपती रानाले कृष्णपुर र आसपासका क्षेत्र भएर बग्ने नदी तथा खोला नालाहरुले उर्वरा भूमि कटान तथा डुबानको समस्या सृजना गर्ने गरेकोले त्यसबाट उत्पन्न हुने जोखिम न्यूनिकरणका लागी तालिम फलदायी हुने धारणा राख्नुभयो ।

उहाँले तालिममा सिकेका कुराहरुलाई फिल्डमा उतारेर समुदाय स्तरमा जनधनको रक्षा गर्नमा योगदान पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । तालिमबाट आगामी दिनमा कुनै पनि प्रकारका विपद्को अग्रिम प्रतिकार्य, पूर्वतयारी र प्रतिकार्य गर्न सहज हुने सहभागीहरुले धारणा राखेका थिए ।

जलवायु उत्थानशिल समुदाय परियोजनाले कृष्णपुर नगरपालिकाका ३ वटा र दोधारा चाँदनी नगरपालिकाका ३ वटा गरि ६ वटा बाढीको उच्च जोखिममा रहेका नदी तटीय क्षेत्रका समुदायहरु साथै जलवायुजन्य अन्य विपद्हरुबाट प्रभावित समुदायहरुलाई उत्थानशिल बनाउनका लागि उनिहरुको विपद् पूर्वतयारी साथै प्रतिकार्य क्षमता अभिवृद्धिका लागी कार्य गर्दै आएको छ्।

सम्बन्धित समाचार

Leave a Reply