महेन्द्रनगर, ७ बैशाख । भीमदत्त नगरपालिकाको आयोजना तथा बि.सि.टि.सी. नेपालको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको ५० दिने डकर्मी र इलेक्ट्रिसियन तालिम आइतबार सम्पन्न भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रोजगारीका लागि पहल परियोजनामा कार्यस्थलमा आधारित तथा जीवन उपयोगी डकर्मी र वाईरिङ सम्बन्धि सीप बिकास तालिम सम्पन्न गरिएको हो ।
बि.सि.टि.सि.का कार्यकारी निर्देशक केदार प्रसाद भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि भीमदत्त नगरपालिका नगर प्रमुख पदम बोगटी रहेका थिए ।
उनले भीमदत्त नगरपालिकाभित्र रहेका मजदुरहरूको सेवा र सुविधाको लागि अग्रणी भूमिका निर्वाह गर्ने बताएका छन् ।
विशिष्ट अतिथि भिमदत्त नगरपालिकाकी नगर उप प्रमुख निलम लेखक जोशी रहेकि थिइन । उनले महिलाहरूलाई पनि पुरुष सरह नै काम गरुन भन्ने मनसायले महिला र पुरुष दुवैलाई डकर्मी र इलेक्ट्रिसियन तालिम दिएको बताउदै आउँदो आर्थिक वर्ष २०८२ ÷२०८३ का लागि बजेट छुट्याएर सिप सिकेका मजदुरहरूको अभिलेखीकरण गर्ने समेत बताएकी छन् ।
इलेक्ट्रिसियन र डकर्मीको ४० दिने सीमूलक तालिम र १० दिने जीवन उपयोगी सीप गरि ५० दिन तालिम दिईएको रोजगार संयोजक कृष्णबहादुर चन्दले बताएका छन् । उक्त तालिममा डकर्मी २० जना र घर वाइरिङ २० जना गरि जम्मा ४० जना महिला पुरुषहरु सहभागी रहेको संयोजक चन्दले बताए ।
उपप्रमुख निलम लेखक जोशीले तालिममा राम्रो सङ्ग सिकेर प्रथम द्धितिय र तृतीय हुने प्रशिक्षार्थीलाई पुरुस्कार दिने भन्ने बाचा गरे अनुरुप राम्रो सिक्ने तथा उत्कृष्ट ३ जनालाई मजदुर सामग्री हौसलाका लागि प्रथम द्धितिय र तृतीय पुरस्कार बितरण गरिएको उपप्रमुखले बताइन् ।

