कञ्चनपुर, बैशाख ३पुर्व प्रधानमन्त्री एव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार धेरै दिन नटिक्ने दाबी गरेका छन ।
मंगलबार नवलपुरको कावासोतीमा नेपाल पत्रकार महासंघ नवलपुरले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
प्रचण्डले भने, ‘मैले चितवनमा बोल्दा कुनै दल वा दलका नेताहरूसँग छलफल गरेर बोलेको त होइन, तर घटनाक्रमले यस्तै देखाएको छ। मलाई लाग्छ मैले बोलेको सत्य हुँदै गएको छ।’शिक्षक, स्वास्थ्यकर्मी, मिटरब्याजपीडित, सहकारीपीडितहरूसहित अधिकांश दलहरू सडक आन्दोलनमा रहेका कारण यो सरकार धेरै दिन नटिक्ने प्रचण्डको जिकिर थियो।
उनले सरकारमा रहेका दलका नेताहरूले नै सरकारले गरेको काममा असन्तुष्टि पोखेको बताए। उनले यो सरकार जति दिन टिक्छ उति नै देशका लागि दुर्भाग्य हुने टिप्पणी गरे। प्रचण्डले शिक्षकहरूको आन्दोलनबारे नकारात्मक अभिव्यक्ति दिएर प्रधानमन्त्री केपी ओलीले आगोमा घिउ थप्ने काम गरेकोसमेत आरोप बताए।
आफू प्रधानमन्त्री हुँदा शिक्षकहरूसँग गरेको सम्झौताअनुसार यो सरकारले शिक्षकको जायज मागहरू पूरा गर्नुपर्नेमा उनको जोड थियो।
प्रचण्डले भने, ‘सम्भव हुने मागहरू क्याबिनेटको बैठक बसेर पूरा गर्नुपर्छ अनि बाँकी माग संसद्को बैठक बोलाएर विद्यालय शिक्षा ऐन जारी गरेर पूरा गर्नुपर्छ।’ माओवादी केन्द्रले नवलपुरबाट पुनः सुरु गरेको मधेश जागरण अभियानअन्तर्गत आज जागरण अभियानमा सहभागी माओवादीका नेताहरू गैँडाकोट हुँदै कावासोती आइपुगेका छन्।
सो क्रममा अध्यक्ष प्रचण्डसहितको टोेलीहरूले गैँडाकोटको लखन चोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको सालिकमा समेत माल्यार्पण गरेका थिए।आज नै उनले रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा अवलोकन र कावासोतीमा बेपत्ता तथा सहिद परिवारसँग भेटघाट गरेका थिए।
टोली आज पश्चिम नवलपरासीको बर्दघाट पुग्ने कार्यक्रम छ। प्रचण्डनयाँ वर्षको अवसर पारेर माओवादी केन्द्रको तराई मधेश जागरण अभियान नवलपुरको गैँडाकोटबाट पुन सुरु गरेको छ ।
अभियानका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार गैँडाकोट आइपुगेका छन । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गैँडाकोटमा माओवादी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै नयाँ वर्षको अवसर पारेर गैँडाकोटबाट अभियान पुनस् सुरु गर्न पाउँदा खुसी लागेको बताए।
तीनकुनेको प्रदर्शनपछि राजावादीहरू आपराधिक तत्वको रूपमा नांगिएको उनको टिप्पणी छ।
माओवादी केन्द्रले राजनीतिक हस्तक्षेप नगरेको भए सो दिन ठुलो राजनीतिक दुर्घटना हुने अवस्था देखिएपछि काठमाडौंमा जनप्रदर्शन गरेको उनको दाबी छ।
एकैदिन भएको समाजवादी मोर्चा र राजावादीहरूको प्रदर्शनले राजावादी कस्ता हुन्छन् र गणतन्त्रवादीहरू कस्ता हुन्छन भनेर प्रस्ट्याएको उनले बताए। आफूहरूको प्रदर्शनले गणतन्त्रवादीहरू लोकतन्त्रप्रति उत्तरदायी छ भन्ने पुष्टि भएको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले मधेश जागरण अभियानले माओवादीप्रति जनताको भरोसा बढेको बताए। माओवादी मात्रै परिवर्तनशील पार्टी भएको उनको भनाइ छ। प्रचण्डले गैँडाकोट, रजहर, कावासोतीलगायतका स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने कावासोतीमा माओवादी केन्द्रले नवलपुरकेन्द्रित सभा गर्ने भएको छ। कार्यक्रममा सहभागी हुन हालै पार्टी उपाध्यक्षको जिम्मेवारीमा फर्किएका नन्दबहादुर पुन पासाङलगायत केन्द्रीय नेताहरू गैँडाकोट आइपुगेका छन । मेचीदेखि शुरु भएको माओवादी अभियान निरन्तर पश्चिम नेपालतिर बढिरहेको छ ।

