आइत, असार ७, २०८३

९ महिनामा विकास खर्च २९ प्रतिशत मात्रै, अब तीन महिनामा साढे ८ अर्ब खर्च होला ?


काठमाडौँ। चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९ प्रतिशत मात्रै भएको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चैत ३० गतेसम्मको सरकारको पुँजीगत खर्च एक खर्ब दुई अर्ब ९० करोड रुपैयाँ मात्रै भएको छ।

पुँजीगत शीर्षकमा चालु आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबर विनियोजन गरेको थियो ।

वार्षिक विनियोजनको तुलनामा हालसम्मको पुँजीगत खर्च २९ दशमलव दुई प्रतिशत हो।यो अवधिमा विकास खर्च मात्र नभई समग्र बजेट खर्च कमजोर देखिएको छ ।

वार्षिक विनियोजनको तुलनामा चैत मसान्तसम्ममा ५३ दशमलव ६७ प्रतिशत बराबर बजेट खर्च भएको हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । चैत मसान्तसम्ममा नौ खर्ब ९८ अर्ब ५० करोड रुपैयाँ बराबर खर्च भएको छ ।

त्यस्तै, चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन भएकामा ५९ दशमलव ४५ प्रतिशत अर्थात् ६ खर्ब ७८ अर्ब ६ करोड रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

वित्तीय व्यवस्था शीर्षकमा चैत मसान्तसम्मको खर्च ५९ दशमलव २३ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि यो शीर्षकमा सरकारले तीन खर्ब ६७ अर्ब २८ करोड ४५ रुपैयाँ प्रतिशत बराबर विनियोजन गरेकामा वार्षिक विनियोजनको ५९ दशमलव २३ प्रतिशत खर्च भएको हो ।

चालु बजेट कार्यान्वयनको चैत मसान्तसम्म कुल १८ खर्ब ६० अर्बको बजेटमा सरकारले ९ खर्ब १८ अर्ब बजेट खर्च गरेको छ ।

बजेट कार्यान्वयनको लागि अब तीन महिनामात्रै बाँकी छ । कुल बजेट पुरा खर्च गर्न सरकारले यो अवधीमा अझै ८ खर्ब ६२ अर्ब खर्चिनुपर्छ ।

सम्बन्धित समाचार

Leave a Reply