काठमाडौं।बाँकेको यातायात व्यवस्था कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनालाई पक्राउ गरेको छ ।
लाइसेन्समा करोडौं लेनदेन गरेको सूचनाका आधारमा आयोगले कर्मचारी र ड्राइभिङ सेन्टरका सञ्चालकलाई पक्राउ गरेको हो।
यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेट (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज के.सी. र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरद कुमार गोराथोकीलाई आयोगले बुधबार पक्राउ गरेको हो ।
कर्मचारीहरुले नक्कली सवारी चालक अनुमति पत्र बितरण गरी मासिक ३ करोड भन्दा बढी रकम कलेक्सन गर्ने गरेको भन्ने समेतको सूचना तथा उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल र आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट संयुक्त रुपमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
प्रदेश यातायात मन्त्रालयसम्मको सेटिङमा लुम्बिनीका यातायात कार्यालयहरुबाट व्यापक मात्रामा लाइसेन्समा सेटिङ हुने गरेको उजुरीका आधारमा आयोगले छानविन थालेको हो।
पक्राउ गर्नुअघि लेनदेनका प्रमाणसहित संकलन गरिएको आयोगले जनाएको छ। साभार नयाँ पत्रिका

