कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा कक्षा ८ को नतिजा सार्वजनिकसँगै सामुदायिक विद्यालयहरूको स्तरीयताको असल तस्वीर उजागर भएको छ ।
शिक्षा क्षेत्रमा राज्यको करोडौं लगानीका बाबजुद बेलडाँडीका दुई सामुदायिक विद्यालयको परीक्षाफल शून्य आएको छ भने जम्मा २४.०६ प्रतिशत मात्र विद्यार्थी उतीर्ण भएका छन् ।
यस्तो परिणामले बेलडाँडीको सामुदायिक शिक्षाको अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।गाउँपालिकाका १४ विद्यालयबाट ३ सय ९९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तर, तीमध्ये जम्मा ९६ जनाले मात्र आगामी कक्षा ९ मा जाने योग्यता प्राप्त गरे ।
बाँकी ३ सय ३ जना विद्यार्थी फेल भएपछि आम नागरिक, अभिभावकदेखि स्थानीय सरकारसम्म चिन्तित बनेका छन् ।सबैभन्दा गम्भीर अवस्था राधाकृष्ण जनप्रिय आधारभूत विद्यालय, बैवाह र सिद्धनाथ आधारभूत विद्यालय, सिद्धचोकको रहेको छ ।
दुवै विद्यालयबाट क्रमशः १८ र १२ जना विद्यार्थी परीक्षामा सहभागी भए पनि एक जनाले पनि पास गर्न सकेनन् । शून्य नतिजाले विद्यालय व्यवस्थापन, शिक्षण शैली र शिक्षकहरूको उत्तरदायित्वप्रति गम्भीर प्रश्न उठाएको छ ।सामुदायिक विद्यालयको अवस्था सुधारका लागि बेलडाँडी गाउँपालिकाले अघिल्लो शैक्षिक वर्षमा मात्र १ करोड ७३ लाख रुपैयाँ खर्च गरेको थियो ।
तर यो लगानीले अपेक्षित सुधार ल्याउन नसक्नु अत्यन्तै दुःखद र निराशाजनक पक्ष हो । राज्यको करोडौं लगानी शिक्षामा खन्याउँदा पनि जब विद्यालयको नतिजा ७.३२ प्रतिशतसम्ममा झर्छ, तब यो प्रश्न उठ्न स्वाभाविक हुन्छ “शिक्षा सुधारको नाममा भइरहेका खर्च कहाँ जाँदैछन ?
“ तर, लगानीको अनुपातमा नतिजा भने शून्यजस्तै भएपछि स्थानीय सरकार आफैं असन्तुष्ट देखिएको छ ।अर्कोतर्फ, कुनै सरकारी सहयोग नलिएका निजि विद्यालयहरूको नतिजा भने सराहनीय रहेको छ ।
गाउँपालिकाभरिका सबै १४ विद्यालयलाई पछि पार्दै सगरमाथा शिक्षा एकेडेमी, झरनासागर ले ९० प्रतिशत विद्यार्थी उतीर्ण गराएर प्रथम स्थान हासिल गरेको छ ।
त्यस्तै बेलडाँडी ग्लोबल एकेडेमी, बैवाह दोस्रो स्थानमा ६२.५० प्रतिशत, मोडेल चाइल्ड केयर बोर्डिङ स्कुल, गौडी तेस्रो स्थानमा ५२.१७ प्रतिशत र कञ्चन ग्यालेक्सी पब्लिक स्कुल, बेलडाँडी चौथो स्थानमा ४१.६७ प्रतिशत उतीर्ण प्रतिशतसहित अगाडि छन् ।
शिक्षकहरूको भूमिका र विद्यालय प्रशासनको जवाफदेहीता जस्ता कमजोरीले गर्दा सामुदायिक विद्यालयहरू निरन्तर पिछडिएका छन् ।
स्थानीयवासीहरू भन्छन्, “शिक्षकले आफूलाई जिम्मेवार नबनाएसम्म, शिक्षक नै सुधार नभएसम्म, विद्यालयको सुधारको कल्पना गर्न सकिँदैन ।
“शिक्षामा सरकारी लगानीको प्रभाव नदेखिनु र निजि विद्यालयको परिणामले यत्रो अन्तर ल्याउनु, आम नागरिकका लागि सोचनीय विषय बनेको छ।शिक्षामा देखिएको यो गम्भीर विचलनलाई लिएर अब गम्भीर पुनर्विचारको आवश्यकता देखिएको छ ।
सार्वजनिक विद्यालयको अस्तित्व जोगाउन सबै पक्ष गम्भीर, उत्तरदायी र पारदर्शी हुनु अत्यावश्यक देखिन्छ । शिक्षक, अभिभावक, विद्यार्थी र सरकार सबैको साझा भूमिकामार्फत मात्रै बेलडाँडीको शिक्षामा उज्यालो ल्याउन सकिने छ ।

