सोम, असार १, २०८३

एप्लाईड ईकोलोजी सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न


कञ्चनपुर, चैत्र २३त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सिद्धनाथ विज्ञान क्याम्पस, कञ्चनपुरले एप्लाईड ईकोलोजी सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ।

प्राणीशास्त्र विभागको आयोजनामा, चीनको Institute of Hydrobiology, Chinese Academy of Sciences को सह–आयोजनमा तथा नेपाली पक्षी संघ (BCN), काठमाडौं को सहकार्यमा उक्त गोष्ठी सम्पन्न भएको हो।क्याम्पसका उप–प्राध्यापक तथा कार्यक्रम संयोजक डा. बलराम अवस्थीका अनुसार गोष्ठीमा प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ता तथा शिक्षक मण्डलको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा क्याम्पस प्रमुख सह–प्राध्यापक डा. गजराम दमाईले सहभागीहरूलाई अनुसन्धान र वातावरणीय चेतनामा अग्रसर हुन प्रेरणा दिनुभयो।कार्यशालाका प्रमुख वक्ता, प्रख्यात अनुसन्धानकर्ता डा. अहिंसा आर्सेइज-क्याम्पोस (Megafauna Ecology and Conservation) ले अन्तर्राष्ट्रिय सन्दर्भमा एप्लाईड ईकोलोजीसम्बन्धी विषयमा आफ्नो प्रस्तुति दिनुभयो।

डा. अहिंसाका १०० भन्दा बढी पियर-रिव्यू प्रकाशन, ५,४०० भन्दा बढी उद्धरण तथा ५९ H-Index रहेका छन्।

उहाँ विविध अन्तर्राष्ट्रिय वैज्ञानिक समितिका सदस्य तथा प्रतिष्ठित जर्नलका प्रधान सम्पादक समेत हुनुहुन्छ।कार्यशालामा उपप्राध्यापक डा. लिसाओङ, सहप्राध्यापक डा. नरेन्द्र बहादुर चन्द, उपप्राध्यापक तिलमाया ढकाल, सहप्राध्यापक डा. महादेव विष्ट, डा. प्रकाशदत्त भट्ट, डा. शिविश भण्डारी, सुरज बराल, लक्ष्मण पौडेल, हतन चौधरी, तथा वन्यजन्तु प्राविधिक देवराज जोशीलगायतका विज्ञहरूले विभिन्न विषयमा प्रस्तुति र प्रशिक्षण दिएका थिए।

कार्यक्रम अन्तर्गत सहभागीहरूलाई फिल्ड अभ्यास, तथ्यांक विश्लेषण, चरासम्बन्धी अध्ययन प्रविधि, वनस्पति तथा स्तनधारी अनुसन्धानका उपकरणबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यशालाको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

विद्यार्थीहरूले वातावरणीय अनुसन्धानका अत्याधुनिक उपकरण र प्रविधिहरू, पारिस्थितिक तथ्यांक विश्लेषण तथा वन्यजन्तु संरक्षणका विविध विधिबारे गहिरो ज्ञान प्राप्त गरेको अनुभव साटेका थिए।

यस्ता कार्यशालाले विद्यार्थीहरूलाई वैज्ञानिक अनुसन्धानमा सक्रियता तथा वातावरणीय नेतृत्वतर्फ प्रेरणा दिने विश्वास व्यक्त गरिएको थियो।

सम्बन्धित समाचार

Leave a Reply