बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-२ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा शनिबार वासन्तिक नवरात्र अन्तर्गतको जात्रा पशु बलिसहित सम्पन्न भएको छ।
शुक्रबारदेखि सुरु भएको जात्रा शनिबार सम्पन्न भएको मन्दिरका भण्डारे तथा निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका कार्यवाहक अध्यक्ष चक्रबहादुर बोहराले जानकारी दिए।
जात्राको अवसरमा १६८ राँगा र झन्डै २ सय बोकाको बलि दिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले बताए।
प्रतिवर्षको चैत्राष्टमीमा यहाँ भाकल अनुसार बलि दिने परम्परा रहिआएको छ।
मन्दिरमा वर्षको चारवटा जात्रा आयोजना हुने गर्छन्।
शरदीय नवरात्र र वासन्तिक नवरात्रमा बलिसहित जात्रा गरिन्छ भने भाद्र शुक्ल चतुर्दशी (अनन्त चतुर्दशी) र मंसिर शुक्ल पूर्णिमा (धान्य पूर्णिमा) मा बलिबिनाको जात्रा सञ्चालन गरिन्छ।
बलिसहितको जात्रामा बैतडी मात्र होइन, सीमावर्ती भारतबाट पनि ठूलो संख्यामा दर्शनार्थीहरू आउने गर्दछन्।
शक्तिपीठको रूपमा मानिने निङ्गलाशैनी मन्दिरमा श्रद्धालुहरूले आफ्नो मनोकांक्षा पूरा भएको भनी भाकल अनुसार बलि चढाउने परम्परा रहेको बताइएको छ।

