काठमाडौं।नेपाल पत्रकार महासंघको टोलीले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहाल सहित ८ जनाको संयुक्त टोली चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको भन्दै सरकारलाई घटनाको सत्यतथ्य छानवीन गरि आवश्यक कारवाही गर्न गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण बुझ्दै गृहमन्त्री लेखकले उक्त घटना अराजक, हिंस्रक एवम् सिद्धान्त विनाको भिडले गरेको बताउँदै उक्त विषयमा सरकार गम्भिर भएको बताउनुभयो ।
“तिनकुनेमा भएको अराजक भिडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै अपराधिक कार्य गर्ने निश्चित उदेश्य थियो, लक्ष्य थियो ।
” गृहमन्त्री लेखकले भन्नुभयोे, “विध्वशं मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार पत्रकारलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार गम्भिर छ ।
” हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजानी गर्ने, एवम् संचार गृहमा र सञ्चारकर्मीलाई निसाना बनाएको विषयमा सरकारले सत्यतथ्य छानवीन गरि घटनाका दोषीलाई कारवाही गरिने गृहमन्त्री लेखकले बताउनुभयो ।
यसैगरि उक्त घटनाबाट ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारहरुको विषयमा सरकार गम्भिर भएको र उक्त विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको उहाँको भनाई छ ।

