काठमाडौं, २८ मार्च – काठमाडौंको तीनकुनेमा राजावादीहरुले आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दा एक पत्रकारको ज्यान गएको छ। एभिन्युज टिभीका पत्रकार सुरेश रजकको आगलागीमा जलेर मृत्यु भएको पुष्टि भएको छ।
प्राप्त जानकारी अनुसार, शुक्रबार तीनकुनेमा राजसंस्थाको समर्थनमा गरिएको प्रदर्शन उग्र बन्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो। सोही क्रममा एक भवनमा आगलागी हुँदा समाचार संकलनका लागि छतमा पुगेका पत्रकार रजकको मृत्यु भएको हो।घटनाका प्रत्यक्षदर्शीहरुले बताए अनुसार, झडपपछि उक्त भवनमा अचानक आगो लागेको थियो।
पत्रकार रजक टेलिभिजनको लागि दृश्य खिचिरहेका थिए, तर आगलागीबाट बच्न नसकेर जलेर निधन भएको हो।यस घटनाले पत्रकारिता क्षेत्रलाई ठूलो धक्का पुर्याएको छ।
नेपाल पत्रकार महासंघ तथा विभिन्न संचारमाध्यमहरुले घटनाको निन्दा गरेका छन् र दोषी उपर कडा कारबाहीको माग गरेका छन्।यसबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ।

