काठमाडौं।राष्ट्रिय मानव अधिकार आयोगले हिंसात्मक गतिविधि बन्द गर्न र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आह्वान गरेको छ।
साथै हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानूनी दायरामा ल्याई कारवाही गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै तीनकुनेमा राजतन्त्र समर्थकद्वारा भएको प्रदर्शन र आमसभा हिंसात्मक हुन पुगेको उल्लेख गरेका छन्।
‘प्रदर्शनकारी तीनकुनेबाट प्रहरीको घेरा तोडी निषेधित क्षेत्र नयाँबानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भएको, प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम गरेको पाइएको छ,’ घटनाको अनुगमन समेत गरेको आयोगले भनेको छ, ‘शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको विषय भए तापनि आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारमा असर पार्नु मानव अधिकारको मूल्यमान्यता विपरीत हुन जान्छ।
कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरुको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न सकिँदैन।’प्रदर्शनकारीले तीनकुने क्षेत्रमा सञ्चारमाध्यमका भवन, कलेजका भवन तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नुका साथै आगो निभाउन हिँडेको दमकल तथा सशस्त्र प्रहरीको गाडीमा समेत ढुंगा प्रहार गरेका छन्।
अनुगमनका क्रममा हिँडेको मानव अधिकार आयोगको अनुगमन टोलीमाथि प्रदर्शनकारीबाट कोटेश्वरमा सांघातिक आक्रमण गरी अनुगमन टोलीमा संलग्न कर्मचारीलाई घाइते बनाएको विज्ञप्तिमा उल्लेख छ।आयोगले भुकुटीमण्डपमा भएको समाजवादी मोर्चाको प्रदर्शनको पनि अनुगमन गरेको छ।
मोर्चाले भृकुटीमण्डपमा सडकमा मञ्च बनाउँदा आवागमनमा बाधा परेको पाइएको विज्ञप्तिमा उल्लेख छ।

