महेन्द्रनगर । कञ्चनपुरका क्रियाशील पत्रकारहरूले होली खेल्दा संकलित रकमबाट उपचाररत सहकर्मी पत्रकारहरूलाई आर्थिक सहयोग गरेका छन्।
विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित चार जना पत्रकारलाई जनही पाँच हजार एक सय रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको हो।नेपाल पत्रकार महासंघ कञ्चनपुरका सदस्य एवं शुक्लाफाँटा एफएमका समाचार प्रमुख सुजित सिनाल, प्राइम टाइम्सका जिल्ला संवाददाता डिल्लीराज पन्त, कञ्चनपुर पोस्टका सञ्चालक एवं प्रधान सम्पादक कृष्ण दत्त जोशी, तथा बेलौरी अनलाइन खबरका सञ्चालक माधव पौडेललाई आर्थिक सहयोग प्रदान गरिएको छ।
पत्रकार सिनालको घुँडाको शल्यक्रिया भएको र चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेका बेला उनको निवासमै पुगेर सहयोग प्रदान गरिएको हो। यस्तै, डिल्लीराज पन्त लामो समयदेखि स्वास्थ्य उपचारमा रहँदै आएका छन् भने, कृष्ण दत्त जोशी मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका छन्।
माधव पौडेलको पनि मोटरसाइकल दुर्घटनापछि हातको शल्यक्रिया गरिएको थियो, साथै उनी मातृशोकमा समेत परेका छन्।सहयोग हस्तान्तरण कार्यक्रममा क्रियाशील पत्रकार होली समूहका अगुवा राजेन्द्र विष्ट, भाष्कर केसी, प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष अरुणप्रसाद भट्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुरका कोषाध्यक्ष मोहन विष्ट, पत्रकार पहिलाद राना, विमल धामी, धनसिंह धामी, रमेश कार्की लगायतको उपस्थिति थियो।पत्रकारहरूले आर्थिक अभावका कारण उपचारमा कुनै समस्या नहोस् भन्ने उद्देश्यले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

