काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक)को छैंठौं सम्मेलनमा भाग लिन थाइल्याण्ड जाने भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्री नेतृत्वको टोली १९ चैतमा थाइल्याण्ड जान लागेको हो। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताको तयारी भइरहेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन्।
त्यस्तै, बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा पुनः सिफारिस समिति गठन भएको छ ।
सिफारिस समितिको सदस्यहरूमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सदस्य, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती तथा अर्जुनबहादुर कार्की र स्टेला तामाङलाई राखिएको छ। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको अध्यक्ष्तामा सिफारिस समिति गठन भएको छ ।
समितिको सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेललाई राखिएको छ । सोही बैठकले नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

