शुक्र, बैशाख २५, २०८३

“सुदूरपश्चिममा भिटौला पर्व सुरू”


कञ्चनपुर।सुदूरपश्चिममा भिटौला पर्व सुरू भएको छ । चैत महिनाको आगमनसँगै बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा भिटौला पर्व सुरू भएको हो ।

भाइबहिनीको प्रेम पर्वका रूपमा रहेको भिटौला खास गरेर बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षका तर्फबाट दाजुभाइले भेट्ने चलनको रूपमा प्रचलित छ ।

चैत महिनादेखि चेलीबेटीलाई भेट्ने दिन सुरू हुन्छ । चैत महिना खडेरीको महिना पनि हो । यो महिनामा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकिएर जाने हुनाले चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको छ ।

परम्परागत कथनअनुसार भारतको कुमाउमा एक दाजुले आफ्नी बहिनीलाई चैत महिनामा भेट्ने बताएको र पछि व्यस्तताका कारण भेट्न नपाएको सत्य कथासँग यो भिटौलो अर्थात् चेलीबेटीलाई भेट्ने चलन जोडिएको छ ।

भिटौलोमा माइतीले मीठो खानेकुरा र लुगाकपडा छोरीबहिनीको घरमा पुर्‍याउने चलन छ ।

भिटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमताअनुसार लुगा र गहनासमेत दिने चलन छ ।

पछिल्लो समय बजारबाट फलफूल, मिठाई, गुड लगेर दिने चलन छ । भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ।

दाजुभाइ नभएका परिवारमा नजिकमा गएर भेट्ने चलन रहेको छ ।चैतमा चेलीबेटीलाई दान दिएमा राम्रो फल मिल्ने जनविश्वासका कारण पनि यसको महत्त्व अझै गाउँघरतिर घटेको छैन ।

यो महिनाभर एकरात दिदीबहिनीको घरमा बास बस्ने चलन रहेको छ । यसले दाजुभाइ र दिदीबहिनीको प्रेम सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने विश्वास रहिआएको छ ।

सम्बन्धित समाचार

Leave a Reply