कञ्चनपुर।१८ महिनादेखि हमास समूहको नियन्त्रणमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन जोशीको रिहाइको लागि परिवारले पुनः सरकारसँग माग गरेको छ।
सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहका लागि आइतबार महेन्द्रनगर आएका प्रधानमन्त्री केपी ओलीलाई भेटेर परिवारले विपिनको रिहाइका लागि पहल गर्न माग गरेको हो।
सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ एग्रिकल्चर टीकापुरका विद्यार्थी विपिन जोशी २० असोज ०८० देखि हमासको नियन्त्रणमा छन्।
प्रधानमन्त्री ओली गृहजिल्ला कञ्चनपुर आएका बेला विपिनका बाबु महानन्द जोशीसहित उनकी आमा, दाजु र बहिनी प्रधानमन्त्रीलाई भेट्न कार्यक्रमस्थलमै पुगेका थिए। भेटमा विपिनका बाबु महानन्दले छोराको रिहाइका लागि प्रधानमन्त्री ओलीसँग फेरि आग्रह गरेका छन्।
यसअघि पनि काठमाडौंमा प्रधानमन्त्री ओलीसँग विपिनको रिहाइका लागि माग अघि सारेका थियौँ,’ उनले भने, ‘अहिले पनि माग दोहो¥यायौं, जवाफमा प्रधानमन्त्रीले रिहाइको पहलका लागि आश्वासन दिएका छन्।
’इजरायल र हमासबिच युद्धविरामको सहमति भई बन्दीहरु छुटे पनि नेपालका विपिन अझै नछुटेपछि परिवार झन् चिन्तित बन्दै गएका छन्। सरकारका मन्त्रीहरु र नेताहरुले पटकपटक आश्वासन दिए पनि विपिन रिहा भएका छैनन्।

