मङ्ल, जेष्ठ २६, २०८३

बेलौरीका वडाध्यक्ष सिताराम रिजालको निधन


कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको निधन भएको छ ।

केही महिनायता फोक्सोसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष रिजालको गएराति १२:३० बजे आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएका छन् ।

उहाँको आज दिउँसो बेलौरी स्थित भकुण्डा आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।

२००९ भदौ ५ गते धादिङ जिल्लाको साबिक नीलकण्ठ गाउँ पञ्चायत वडा नम्बर ५ साँखुमा बुवा मुक्तिनाथ रिजाल र आमा वाल कुमारी रिजालको कोखबाट जन्मिनु भएका सिताराम रिजाल २०३९ सालको गाउँ पञ्चायत निर्वाचनमा वडा अध्यक्षको रूपमा निर्वाचित हुनुभयो ।

२०४१ सालतिर उहाँ परिवार सहित कञ्चनपुरको साबिक लक्ष्मीपुर गाविस वडा नम्बर ९ (हाल बेलौरी नगरपालिका वडा नम्बर ३) मा बसाइँ सर्नु भयो ।

२०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा उहाँले नेकपा (एमाले) बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको थियो । तर झिनो मतान्तरले पराजित हुनुभयो ।

त्यसपछि २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा उहाँ वडाध्यक्ष पदमा निर्वाचित हुनु भयो ।

उहाँकी श्रीमती डिल कुमारी रिजालको २०७९ सालको स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो ।

उहाँका छोराहरू हरिप्रसाद रिजाल, स्व. अर्जुन प्रसाद रिजाल, बाबुराम रिजाल, ठाकुर प्रसाद रिजाल र छोरी गीता रिजाल हुन् । वडाध्यक्ष रिजालको असामयिक निधनले बेलौरी क्षेत्रमा शोकको वातावरण बनेको छ ।

स्थानीयवासी र शुभचिन्तकहरू समाज र राजनीतिमा उहाँले पुर्‍याएको योगदानको स्मरण गरिरहेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply