काठमाडौं गृहमन्त्री रमेश लेखकले डेढ बर्षअघि डोटी भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण थालनी गर्नुभएको छ ।
गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेर डडेल्धुराका भूकम्प प्रभावित लाभग्राही अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदान बाफतको पहिलो किस्ता रु ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गर्नुभएको हो ।
अनुदान रकम हस्तान्तरणपछि बोल्दै गृहमन्त्री लेखकले डोटी भूकम्पबाट प्रभावित लाभग्राहीहरुको स्थायी आभाव आगामी असार मसान्तभित्र निर्माण गरिसक्न आग्रह गर्नुभयो ।
उहाँले डोटी भूकम्प गएको डेढ बर्षबितिसक्दा पनि पुर्ननिर्माण र प्रवलीकरणमा ढिलाई भएको बताउँदै आफूले बितेको सात महिनामा पुर्ननिर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर पुर्ननिर्माणको कार्य आरम्भ गर्न गइरहेको जानकारी दिनुभयो ।“ नीजि आवास निर्माणका लागि डेढ बर्ष बितिसक्दा पनि स्थायी आवास बनाउने प्रवन्ध गर्न सकेको थिएन ।
” गृहमन्त्री लेखकले भन्नुभयो–“ अब प्रभावित जिल्लामा पुर्ननिर्माण द्रुत गतिमा गर्न इकाइ कार्यालय नै स्थापना गरेर अघि बढ्ने तयारीका साथ यहाँ आएका हौं ।”उहाँले शुक्रबार बझाङ्ग, शनिबार अछाम र जाजरकोटमा आइतबार पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन ईकाइ उद्घाटन गरिने जानकारी दिनुभयो ।
उहाँले बझाङ्ग, डोटी र डडेल्धुरामा भूकम्प प्रभावित क्षेत्रको विस्तृत क्षतिको आँकलन गरिएको भएपनि जाजरकोटमा क्षति आँकलन गर्न प्राविधिक टोली आवश्यक तालिमसहित खटाइने जानकारी दिनुभयो ।“जाजरकोटमा प्राविधिक टोली तालिम लिएर इकाइ खुलेपछि खटिनेछ ।
” उहाँले भन्नुभयो–“ लाभग्राही छनौट लगायतका विषयमा स्थानीय सरकारको अहम भूमिका रहन्छ ।”मन्त्री लेखकले भूकम्पपछिको पुर्ननिर्माणमा सहयोग गर्न स्थानीय सरकारसित समेत आग्रह गर्नुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भिष्मकुमार भूसालले डोटी भूकम्पबाट नौ हजार चार सयको हाराहारीमा प्रभावितको पहिचान भएको बताउँदै अब पुर्ननिर्माणले गति पाउनेमा जोड दिनुभयो ।
“ स्थायी आवास निर्माणका लागि रकम वितरणको कार्य थालनी गरेका छौं ।” कार्यकारी प्रमुख डा भूसालले भन्नुभयो–“ प्रारम्भ बिन्दू डडेल्धुराबाट भएको छ ।
”त्यसैगरी डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले डडेल्धुराका विभिन्न पालिकामा गरी भूकम्पपछिको पुर्ननिर्माणमा २६ र प्रवलीकरणमा ५२ गरी ७८ लाभग्राही परिवारलाई सम्बोधन गरिने बताउनुभयो ।

