बिहि, बैशाख २४, २०८३

“फतुवा विजयपुरमा टिपरका कारण नागरिकको ज्यान जोखिममा, प्रशासनलाई ज्ञापनपत्र”


काठमाडौं ।जिल्लाको फतुवा विजयपुर नगरपालिकामा टिपरका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

उनीहरूले आइतबार प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवलाई ज्ञापनपत्र बुझाएका हुन्।स्थानीय शिवपुजन प्रसाद यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेका स्थानीयले क्रसर उद्योगहरूबाट सञ्चालन भइरहेका टिपर नियन्त्रण गर्न र वैकल्पिक उपाय अपनाउन माग गरेका छन्।

टिपरको लापरवाहीपूर्ण ढुवानीले सडक बिग्रिएको, धुलोका कारण वायु प्रदूषण बढेको र विद्यालय जाने बालबालिकासहित सर्वसाधारणलाई गम्भीर समस्या परिरहेको उनीहरूको भनाइ छ ।

फतुवा विजयपुर नगरपालिकाका वडा नं.८ र १० मा सञ्चालित चारवटा क्रसरबाट दैनिक २०-३० वटा टिपर अत्यधिक भार बोकेर उच्च गतिमा सञ्चालन हुँदै आएका छन् ।

यी टिपरले बिहान साढे ३ बजेदेखि रातिसम्म निरन्तर ‘ओभरलोड’ ढुवानी गरिरहेकाले सडक भत्किएको, बजार क्षेत्र धुलाम्य बनेको र पैदलयात्री तथा सवारीसाधनलाई जोखिम बढाएको स्थानीयको आरोप छ।

क्रसर उद्योगहरूले नियमविपरीत लालबकैया नदीबाट सामग्री संकलन गर्दै खुला रूपमा ढुवानी गरिरहेको र यसले गर्दा धुलोको कारण दम, खोकीजस्ता स्वास्थ्य समस्या बढेको ज्ञापनपत्रमा उल्लेख छ। विद्यालय जाने बालबालिकाले समेत नियमित रूपमा धुलो र टिपरको जोखिम सामना गर्नुपरेको उनीहरूको गुनासो छ।

ज्ञापनपत्रमा अघिल्लो वर्ष मात्रै टिपर दुर्घटनाका कारण फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर २ र ११ मा दुईजनाले ज्यान गुमाएका थिए।

यस्तै, फागुन ५ गते विजयपुर बजारको मेन चौकमा ओभरलोड टिपरबाट खसेको ढुंगाका कारण ६ जना घाइते भएको भन्दै स्थानीयले प्रशासनलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।

स्थानीयले टिपर साँझ ६ बजेपछि बेलुका ६ बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने, टिपरमा ओभरलोड सामग्री राख्न नदिनु र खुलारूपमा सामग्री बोक्न रोक लगाउन, बजार तथा विद्यालय क्षेत्रबाट जाँदा अधिकतम १५-२० को गतिमा मात्रै चलाउन लगाउन माग गरेका छन्।

यस्तै, धुलो नियन्त्रण गर्न दैनिक पानी छर्किने व्यवस्था मिलाउन,नदीजन्य पदार्थ संकलन तथा ढुवानीसम्बन्धी कानुनी प्रावधान अनुसार अनुगमन कडा बनाउन प्रशासनसँग आग्रह गरेका छन्।

ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित समाचार

Leave a Reply