महेन्द्रनगर, राष्ट्रिय समाचार समिति (रासस) को ६४ औँ वार्षिकोत्सवका अवसरमा रासस महेन्द्रनगर कार्यालयले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपार्धी बैंकर्स टीमले हात पारेको छ ।
बुधबार महेन्द्रनगर स्थित कवर्ड हलमा आयोजित फाइनल खेलमा जिल्ला क्रिकेट संघ कञ्चनपुरलाई चार विकेटले पराजित गर्दै बैंकर्स टीमले उपाधी हात पारेको हो ।
बुधबार भएको पहिलो खेलमा बैकर्स टीमले महाकाली प्रादेशीक अस्पतालको टीमलाई पराजीत गरेर फाइनल प्रवेश गरेको थियो भने दोस्रो खेलमा जिल्ला क्रिकेट संघको टीमले राष्ट्रिय समाचार समितिको टीमलाई पराजित गरेर फाइनल प्रवेश गरेको थियो ।
फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको जिल्ला क्रिकेट संघ कञ्चनपुरको टीमले निर्धारीत १० ओभरको खेलमा छ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सक्यो । क्रिकेट संघका लागि निरज चन्दले २९ र नरेन्द्र भट्टले ३५ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन ।
बलिङमा बैकर्स टीमका हरिश चन्द र प्रदिप तिवारीले समान दुई÷दुई विकेट लिए । ८३ रनको लक्ष्य पाएको बैकर्स टीमले जवाफी ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा नौ ओभरमा लक्ष्य पुरा गर्यो ।
उसका लागि गौतम मिश्रले २३ रन,ललित कलौनी १५ रन हरिश चन्द २३ रन बनाएका थिए । बलिङमा क्रिकेट संघका आषिश खत्रीले दुई विकेट लिए भने नरेन्द्र भट्ट,भुपाल विष्ट,खेम भट्ट र निरज चन्दले एक÷एक विकेट लिए ।
त्यसअघि जिल्ला क्रिकेट संघ र राष्ट्रिय समाचार समितिको टीम बीच भएको खेलमा क्रिकेट संघले राससको टीमलाई ३७ रनले पराजित गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको क्रिकेट संघको टीमले निर्धारित १० ओभरमा दुई विकेटको क्षतिमा १०२ रन बनायो ।
क्रिकेट संघका विशाल सोनारले सर्वाधिक ४९ रन बनाए भने भुपाल विष्टले २९ रन बनाउँदा अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन । बलिङमा राससका भुपाल केसी र प्रेम नेपालीले एक÷एक विकेट लिए ।
१०३ रनको चुनौतीपूर्ण लक्ष्य पाएको राससको टीमले निर्धारित १० ओभरको खेलमा पाँच विकेट गुमाएर ६५ रन मात्रै बनाउन सक्यो । राससका प्रेम नेपालीले सर्वाधिक ३७ रन बनाए भने भुपाल केसीले २२ रन बनाउन बाहेक अन्य ब्याट्स म्यानले रन बनाउन सकेनन।
बलिङमा क्रिकेट संघका खेमराज भट्टले तीन विकेट लिए भने नरेन्द्रराज भट्टले एक विकेट लिए । पहिलो खेलमा बैंकर्स टीमले सात विकेटले महाकाली अस्पतालको टीमलाई पराजित गरेकोे थियो ।
पहिले ब्याटिङ गरेको महाकाली प्रादेशीक अस्पतालको टीमले निर्धारित १० आभेरमा सात विकेट गुमाएर ६८ रन मात्रै बनाउन सक्यो । अस्पतालका रोहित भट्टले १९ रन बनाए । त्यसैगरि किसन सिंह विष्टले १० रन बनाउँदा समिर श्रेष्ठले १७ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन ।
बलिङमा बैंकर्स टीमका हरिश चन्दले तीन विकेट लिए भने किशन भट्ट,भगत बुढा र बासु देव जोशीले एक÷एक विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको बैकर्स टीमले नौ ओभरमा लक्ष्य पुरा गर्यो । उसका लागि ललित कलौनीले सर्वाधीक २१ रन बनाए ।
त्यसैगरि पुष्कर विष्टले १६ रन बनाउँदा गौतम मिश्रले ११ रनको योगदान गरे । बलिङमा महाकाली अस्पतालका भुपेस चटौत,रमेश नाथ र दिपक महराले एक÷एक विकेट लिए । उपाधी विजेता टीमलाई कार्यक्रममा प्रमुख अतिथि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले ट्रफि प्रदान गर्नुभएको थियो ।
समापन समारोहमा बोल्दै प्रजिअ सापकोटाले राससको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै मैत्रीपूर्ण क्रिकेटले यहाँको खेलको विकासमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा कञ्चनपुर प्रहरीका प्रमुख चक्रराज जोशी,पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सेरश धामी, वरिष्ठ पत्रकार चित्राङ्ग थापा,जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष विरेन्द्र वहादुर चन्द र महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले शुभकामना मन्तव्य राख्नुभएको थियो।
उक्त कार्यक्रममा जिल्ला क्रिकेट संघका पदाधीकारी,पत्रकार महासंघका पदाधीकारी,स्थानीय वुद्धीजी र खेलाडी लगायतको उपस्थीती रहेको थियो ।

