शुक्र, भदौ २६, २०८३

भ्रष्टाचार गर्न नपाए बेचैन हुन्छन नापीका कर्मचारी ः अमिन अख्तियारको फन्दामा


कञ्चनपुर, १० भदौँ नापी कार्यालयका कर्मचारी भ्रष्टाचार गर्र्दैन भनेर सायद नपत्याउने कोही नहोला । नापीका काम गर्ने पनि कर्मचारी छन, तर कोही भ्रष्टाचार मात्रै होई खाल्टोमै लिप्त भएका छन । तीन करोड ७२ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को नापी कार्यालयमा कार्यरत सर्भेयर विन्देश्वर साह सुडीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो।भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा नासुसरहको अमिनमा अस्थायी नियुक्ति लिएको १६ वैशाख ०४६ देखि ३२ जेठ ०८१ सम्मको अवधिमा अमिन सुडीले आर्जन र खर्च गरेको रकमको विश्लेषण गरेर स्रोत नखुलेको सम्पत्तिलाई गैरकानुनी ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो। अख्तियारको दुरुपयोग गरी गैरकानुनी आर्जन गरेको देखिएको तीन करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँलाई नै सुडीविरुद्धको बिगो रकमका रूपमा कायम गरिएको छ।

पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नीको नाममा समेत राखेको पाइएपछि सुमित्रादेवी साहलाई समेत बिगो जफत प्रयोजनका लागि प्रतिवादी कायम गरिएको छ।सरकारी जागिरको अवधिमा सुडीले विभिन्न आयस्रोतबाट कानुनी रूपमा आर्जन गरेको सम्पत्ति र प्रमाणित खर्चको विश्लेषण अख्तियारले गरेको छ। आयतर्फ पारिश्रमिक बचत, भत्ता आयको बचत, घरजग्गा बिक्री आय, एकासगोलको आय, ऋण–सापटी लिएको रकम, सेयर बिक्री आय, बिमा परिपक्व÷समर्पण आय, कृषि आय, छात्रवृत्ति, ब्याज रकम, ऋण सापटी फिर्ता रकम, सुन बिक्रीसमेत ६ करोड तीन लाख ८५ हजार ३० रुपैयाँ वैधानिक आम्दानी देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

जाँच अवधिमै जग्गा, सेयर र सवारीसाधन खरिद, बिमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, ऋण–सापटी तिरेको रकम, बैंक मौज्दात, ऋण–सापटी दिएको रकम, जग्गा खरिदसम्बद्ध कमिसन तथा थप खर्चसमेत सम्पत्ति सिर्जना र लगानीतर्फ उनको कारोबार देखिएको रकम नौ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ देखिएको छ। सुडीले प्रचलित कानुनबमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएकोले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपपत्रमा उल्लेख छ।

सुडीको जाँच अवधिको कुल आयबाट सोही अवधिको कुल खर्च तथा लगानी घटाउँदा तीन करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ वैधानिक आयभन्दा कुल व्यय अधिक हुन गई स्रोत पुष्टि भएको नदेखिएकोबाट उक्त रकमबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको तथ्य पुष्टि भएको अख्तियारको दाबी छ। नापीका अमिन यसरी भ्रष्टाचारमा लिप्त भएपछि जनता हैरान भएका छन ।

सम्बन्धित समाचार