कंचनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा रहेको सूर्य किरण बहुउद्देश्यीय पशु फार्ममा अफ्रिकन स्वाइन फिबरको संक्रमण फैलिएपछि ४५० वटा बंगुर मरेका छन्।
करिब १ करोड रुपैयाँ नेपाल एसबीआई बैंकबाट ऋण तथा ५० लाख रुपैयाँ व्यक्तिगत लगानी गरी कुल डेढ करोड रुपैयाँको लगानीमा फार्म सञ्चालन गरिएको संचालक देव बहादुर खडकाले जानकारी दिनुभयो । करिब १००० बंगुर बनाइ आफ्नै मिट मार्ट खोल्ने सपना बोकेका खडका लाई ठूलो संख्यामा बंगुर मरेपछि आर्थिक क्षति पुगेको छ।
देवबहादुर खड्काले सञ्चालन गरेको उक्त फार्ममा भदौ १ गतेदेखि अफ्रिकन स्वाइन फिबरको संक्रमण देखिएको र भदौ ५ गतेसम्म ४५० वटा बंगुर मरिसकेको दोधारा चाँदनी नगरपालिका पशु चिकित्सक नन्दराज भट्टले जानकारी दिनुभयो। अहिले फार्ममा करिब ८० देखि ९० वटा बंगुर मात्रै बाँकी रहेका छन्।
अफ्रिकन स्वाइन फिबरका कारण बंगुरमा उच्च ज्वरो आउने, खाना नखाने, कमजोरी हुने तथा अचानक मृत्यु हुनेजस्ता लक्षण देखिने चिकित्सक भट्टले बताउनुभयो। उहाँका अनुसार यस रोगको प्रभावकारी उपचार तथा खोप हालसम्म उपलब्ध छैन।
तत्काल फार्ममा मरेका बंगुरलाई सुरक्षित रूपमा खाल्डोमा पुर्न नगरपालिकाले जेसीबी उपलब्ध गराई र प्रभावित फार्मलाई नगरपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रयास गरिरहेको वडा नम्बर १ का अध्यक्ष विक्रम चन्दले बताउनुभयो।

