शुक्र, भदौ २६, २०८३

NNSWA मा ‘कोठे बैठक’बाट नेतृत्व हस्तान्तरणको आरोप, आर्थिक पारदर्शितामाथि समेत प्रश्न !!


कञ्चनपुर — कंचनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको गैरसरकारी सामाजिक संस्था NNSWA को २७औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भए पनि नयाँ कार्यसमिति चयनको प्रक्रियालाई लिएर संस्था माथी प्रश्न उठेका छन्।

सीमित व्यक्तिहरूको बीचमा हुने ‘कोठे बैठक’बाट आफू निकट, परिवारका सदस्य तथा आसेपासे व्यक्तिहरूलाई समेटेर कार्यसमिति चयन गरिएको आरोप लागेको छ।संस्थाको सञ्चालक समितिमा पटक-पटक उही व्यक्ति र उही समूह दोहोरिने, नयाँ नेतृत्व तथा नयाँ व्यक्तिलाई अवसर नदिने र आफूअनुकूल व्यक्तिहरूलाई समितिमा ल्याउने प्रवृत्तिले NNSWA को सामाजिक उद्देश्य, संस्थागत लोकतन्त्र र पारदर्शितामाथि नै प्रश्नचिह्न खडा भएको टिप्पणी हुन थालेको छ।

विशेषगरी कोषाध्यक्ष पदमा एउटै व्यक्ति दोहोरिनु तथा विगतका सदस्य र पदाधिकारीहरू नै पटक–पटक समितिमा दोहोरिने क्रमलाई लिएर पनि प्रश्न उठेको छ। सीमित व्यक्तिहरूको घेराभित्र नेतृत्व हस्तान्तरण गरिँदा संस्थाको निर्णय प्रक्रिया कति पारदर्शी छ भन्ने विषयमा गम्भीर बहस आवश्यक देखिएको छ।आफू निकट, परिवारवाद र आसेपासे व्यक्तिहरू सम्मिलित समिति चयन गरिँदा संस्थाको आर्थिक पारदर्शितामाथि समेत प्रश्न उठ्न थालेको छ।

कतिपयले पर्दापछाडि भएका भनिएका गतिविधि वा आर्थिक अनियमिततालाई बाहिर आउन नदिन आफूअनुकूल सञ्चालक समिति बनाइएको त होइन भन्ने प्रश्नसमेत उठाएका छन्। यद्यपि, यस्ता आरोप तथा आशंकाको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।त्यस्तै, NNSWA लाई परिवारका सदस्य तथा आफूनिकट व्यक्तिहरूको ‘भर्तीकेन्द्र’ बनाइएको भन्दै सामाजिक अभियान र सुधारका मुद्दालाई नै संस्थाको गतिविधिले गिज्याइरहेको आरोपसमेत लागेको छ।

सामाजिक संस्थाको मूल उद्देश्यभन्दा व्यक्ति र समूह केन्द्रित गतिविधि हावी हुँदै गएको हो कि भन्ने चिन्ता पनि व्यक्त गरिएको छ।दातृ निकायबाट विभिन्न शीर्षकमा सहयोग तथा अनुदान लिएर त्यसअनुसार अपेक्षित काम गर्न नसकेको, एउटा वर्ष कुनै विषय वा क्षेत्रमा अनुदान लिएर कार्यक्रम सञ्चालन गर्ने र अर्को वर्ष सोही विषयलाई ओझेलमा पार्दै नयाँ क्षेत्र वा नयाँ शीर्षकमा कार्यक्रम प्रस्ताव गर्ने गरेको आरोपसमेत उठेको छ।त्यसैगरी, नयाँ–नयाँ शैली र कार्यक्रमको नाम अघि सारेर दातृ निकायसँग सहयोग माग्ने तर अपेक्षित प्रतिफल हासिल गर्न नसक्ने प्रवृत्तिबारे पनि प्रश्न उठाइएको छ।

दातृ निकायबाट प्राप्त सहयोगको वास्तविक उपलब्धि, कार्यक्रमको प्रभावकारिता, खर्चको विवरण तथा लक्षित समुदायले प्राप्त गरेको लाभबारे सार्वजनिक रूपमा स्पष्ट जानकारी दिनुपर्ने मागसमेत उठ्न थालेको छ।यसबीच शनिबार सम्पन्न २७औँ वार्षिक साधारण सभाबाट उपाध्यक्षमा रतन दमाई, महासचिवमा रूपा कौशल परियार, सचिवमा सुरेश पाल्पाली, कोषाध्यक्षमा कविता भट्ट र सहकोषाध्यक्षमा बबिता सुनार चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा मिनु नेपाली, रेश्मा राना र सुन्दर नेपाली चयन भएका छन्।नयाँ कार्यसमितिले संस्थामाथि उठेका यी प्रश्नलाई कसरी सम्बोधन गर्छ भन्ने विषय महत्वपूर्ण बनेको छ। विशेषगरी संस्थाको आर्थिक कारोबार, दातृ निकायबाट प्राप्त सहयोग, कार्यक्रम कार्यान्वयन, उपलब्धि तथा खर्च विवरणलाई पारदर्शी रूपमा सार्वजनिक गर्न सके मात्रै संस्थामाथि उठेका आशंका हटाउन सक्ने देखिएको छ ।

सामाजिक संस्थाको नेतृत्व सीमित व्यक्तिको स्वार्थअनुकूल नभई सदस्यहरूको सहभागिता, संस्थाको विधान, पारदर्शिता, जवाफदेहिता र सामाजिक उद्देश्यका आधारमा चयन हुनुपर्ने आवाजसमेत उठेको छ। NNSWA ले आगामी दिनमा संस्थाभित्रको नेतृत्व चयनदेखि आर्थिक तथा कार्यक्रमगत गतिविधिसम्म पारदर्शी र जवाफदेही बनाउन सके मात्रै सामाजिक क्षेत्रमा आफ्नो विश्वसनीयता कायम राख्न सक्ने देखिन्छ ।

सम्बन्धित समाचार