शुक्र, भदौ २६, २०८३

भ्रष्टाचारको जालोमा कर्मचारीतन्त्र : इन्जिनियरदेखि हेडसरसम्म अख्तियारको फन्दामा!


कञ्चनपुर, साउन १भदौँ सरकारी जागिर जनताको सेवा होईन भ्रष्टाचार गर्न केही कर्मचारी उद्यत रहेका छन । अख्तियारकै पनि तथ्याङ्क अनुरुप निरन्तर कर्मचारी पक्राउदेखि मुद्दा खेप्नु परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ) डिल्लीराज खड्का र लेखा अधिकृत (आठौँ) मिलनकुमार भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पुलको रिडिजाइन स्वीकृत तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र आयोगको कार्यालय इटहरीको संयुक्त टोलीले खड्कालाई ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।

इन्जिनियर खड्का र लेखा अधिकृत भट्टराईको आपसी मिलेमतो तथा योजनामा पुलको डिजाइन, रिडिजाइन, थर्ड पार्टी भेरिफिकेसन र पेस भएको बिल रकम भुक्तानीका लागि सहजीकरण गरिदिएबापत उक्त घुस रकम माग गरी लिएको पुष्टि भएको आयोगले जनाएको छ। सहसचिव भलकराम अधिकारीविरुद्धको घुस तथा सम्पत्ति शुद्धीकरण मुद्दाका प्रमाण खडा गर्न नक्कली कागजात बनाएको आरोप वडाध्यक्ष र वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

नेपालगन्ज उपमहानगरपालिका २० का वडाध्यक्ष कौशलकुमार धोबी, वडासचिव वीरबहादुर थापा मगरविरुद्ध आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।वडा कार्यालयको लिखत प्रमाणित दर्ता किताब सच्याई २०७९–८० मा रवीन्द लामिछाने र विकास चापागाईंबिच ७० लाखको लेनदेन कागज तयार गरिएको थियो। गत २९ असारमा विवरणसमेत सच्याएर गलत लिखत तयार गरेको आयोगले जनाएको छ । वडाध्यक्ष र वडासचिवसहित नक्कली कागज तयार गर्ने लामिछाने र चापागाईंविरुद्ध पनि मुद्दा दायर भएको छ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक हुँदा सहसचिव अधिकारीले रिसोर्टका कर्मचारीको नाममा ७० लाख घुस लिएको दाबीसहित आयोगले गत १ चैतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको थियो। विभागको महानिर्देशक रहेका वेला उनले राजस्व छलीसम्बन्धी उजुरीको अनुसन्धान मिलाइदिने भन्दै घुस लिएको दाबी आयोगको थियो । उनले एचके इन्टरप्राइजेजका मालिक श्रीकृष्ण श्रेष्ठसँग घुस लिएका हुन्। सो रकम सिधै लिएनन्, पोखराको कुटी रिसोर्टका कर्मचारीको नाममा २० लाखको चेक काट्न लगाए।

सो रिसोर्टका मालिक देवेन्द्र केसी अधिकारीका निकटका व्यक्ति हुन्। सोही कारण त्यसरी उनले रिसोर्टका कर्मचारीको नाममा चेक लिएका थियो । बाँकी ५० लाख रुपैयाँमा भक्तपुरको दिव्यश्वरी आयोजनामा पाँचआना जग्गा खरिद गरे। सो जग्गा उनले नेपालगन्जका रवीन्द्र लामिछानेको नाममा खरिद गरेको आयोगले जनाएको छ। प्रमाण लुकाउन उनले अन्य व्यक्तिको नाममा कारोबार गरेका हुन्। यसरी घुसको रकम शुद्धीकरणको प्रयास गरेकाले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुर पनि चलेको थियो।

उनीसहित देवेन्द्र केसी र रवीन्द्र लामिछानेविरुद्ध पनि आयोगले दायर गरेको मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ। सो मुद्दामा नक्कली प्रमाण खडा गर्न वडा कार्यालयबाट किर्ते लिखत तयार गरिएको आयोगको दाबी छ। यस्तै सर्लाहीको मलंगवा नगरपालिकास्थित कृष्णादेवी जनता माविका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षिका प्रियंकाकुमारी सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

लामो समय विद्यालयमा अनुपस्थित रहेकी शिक्षिका सिंहको हाजिरी किर्ते गरी तीन लाख ७१ हजार ३६ रुपैयाँ तलब भुक्तानी गरेको आरोपमा उनीहरूमाथि बुधबार विशेष अदालतमा आरोपपत्र दायर भएको हो। औपचारिक सूचनाविना २०७९ वैशाखदेखि कात्तिक १८ गतेसम्म विद्यालयमा अनुपस्थित सिंहलाई पदबाट हटाउनेतर्फ कारबाही गर्नुपर्नेमा प्रधानाध्यापक यादवले मिलेमतोमा हाजिरी रजिस्टर खाली राखी एकमुस्ट हाजिर गर्न दिएको आरोपपत्रमा उल्लेख छ। यसरी भ्रष्टाचारमा कर्मचारी लिप्त भएपछि जनता समेत हैरान भएका छन ।

सम्बन्धित समाचार