भीमदत्त, १९ बागफाटा– भीमदत्त नगरपालिका वडा नं १९ बागफाटास्थित लक्ष्मी माध्यमिक विद्यालयमा ७५औं प्रजातन्त्र दिवस कार्यक्रम सम्पन्न भएका छन्।
विद्यालय अन्तर्गत लक्ष्मी ईको क्लबद्वारा आयोजित कार्यक्रमका प्रमुख आकर्षण विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता र खाद्य महोत्सव भएको हो।
आधारभूत तह (कक्षा ६ देखि ८) का विद्यार्थीहरूबीच भएको हाजिरीजवाफ प्रतियोगिताले ज्ञान र सिर्जनशीलतालाई प्रवर्द्धन गरेको विद्यालय प्रशासनले जनाएको छ। साथै, खाद्य महोत्सवमा विद्यार्थीहरूले परम्परागत तथा आधुनिक परिकारहरू प्रदर्शन गरी स्थानीय खानपान संस्कृतिको प्रवद्र्धन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा पूर्व वडा अध्यक्ष दामोदर महरा लगायत,शिक्षक,विद्यालय समितिका पधाधिकारी, राजनीतिक दलका नेताहरु,जनप्रतिनिधि,अभिभावक लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक परमानन्द नाथको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उद्घोषकको भूमिका टेकराज भट्टले निभाएका थिए भने सहायक प्रधानाध्यापक प्रेमप्रसाद जोशीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले “आजको दिन हामी सबै नेपालीका लागि गर्वको दिन हो। ७५ वर्षअघि थालनी भएको प्रजातान्त्रिक यात्रा हाम्रा अग्रजहरूको संघर्ष र बलिदानको परिणाम हो। आजको पुस्ताले प्रजातन्त्रको रक्षा गर्दै समृद्ध नेपाल निर्माणमा भूमिका खेल्नुपर्छ। विद्यालय जस्तो शैक्षिक संस्थाले लोकतान्त्रिक मूल्य र शिक्षाको प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान दिन्छ। यस अर्थमा, लक्ष्मी माध्यमिक विद्यालयमा आयोजित यो कार्यक्रम अत्यन्तै उपयोगी गरेको बताएकी छन्।
सहायक प्रधानाध्यापक प्रेम प्रसाद जोशीले प्रजातन्त्र दिवसको महत्वबारे आफ्ना विचार व्यक्त गर्दै विद्यार्थीहरूलाई यस्ता कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन प्रेरित गरे।
प्रधानाध्यापक परमानन्द नाथले सफल कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता शैक्षिक तथा साङ्गठानिक गतिविधि निरन्तर सञ्चालन गरिने बताएका थिए।
उक्त कार्यक्रममा विद्यार्थीहरू अध्ययनको सिलसिलामा खाद्य सामग्रीहरूलाई सिक्दै पकाउँदै गर्दा हर्षित भएका थिए।

