धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ। प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले मिर्गौलासम्बन्धी समस्या भएका बिरामीलाई स्थानीय तहमै सहज उपचार सेवा उपलब्ध गराउने उद्देश्यले डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार सेती प्रादेशिक अस्पतालमा पाँच, महाकाली प्रादेशिक अस्पतालमा चार र टीकापुर प्रादेशिक अस्पतालमा तीन शय्या थप गरिनेछ। त्यस्तै, लम्कीचुहा अस्पतालमा पाँच शय्या डायलाइसिस सेवा थप गरिने प्रदेश सरकारले जनाएको छ।बयलपाटा र जोगबुडा अस्पताल तथा प्रदेशका सबै जिल्ला अस्पतालमा दुई–दुई शय्याको डायलाइसिस सेवा विस्तार गर्ने योजना प्रदेश सरकारको छ।हाल सीमित अस्पतालमा मात्रै डायलाइसिस सेवा उपलब्ध हुँदा मिर्गौलाका बिरामीले उपचारका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता रहँदै आएको छ।
सेवा विस्तार भएपछि बिरामीले आफ्नै जिल्लामा नियमित डायलाइसिस गराउन पाउने र उपचारका लागि अन्यत्र धाउनुपर्ने समस्या कम हुने अपेक्षा गरिएको छ।मुख्यमन्त्री खगराज भट्टले नागरिकले स्वास्थ्य सेवा लिन भोग्नुपरेका समस्यालाई ध्यानमा राख्दै सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरिएको बताउनुभएको छ।
प्रदेशका सबै जिल्ला अस्पतालमा डायलाइसिस सेवा सञ्चालन भएपछि मिर्गौलासम्बन्धी समस्या भएका बिरामीलाई स्थानीय स्तरमै नियमित उपचार लिन सहज हुने विश्वास गरिएको छ। यद्यपि, निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक जनशक्ति, उपकरण, भवन तथा अन्य स्वास्थ्य पूर्वाधारको समयमै व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको छ।

