मङ्ल, साउन १२, २०८३

सशस्त्र प्रहरीको विद्यालयका ११करोड हिनामिना प्रकरणमा अख्तियार छानबिन गर्दै


कञ्चनपुर, साउन १२ देशको कान्छो सुरक्षा संगठन सशस्त्र प्रहरी बलमा पछिल्लो समय बेथिति बढिरहेको छ । विद्यालयदेखि, सीमासम्मै खटिने सशस्त्र प्रहरीका अधिकृत भ्रष्टाचार, अनियमित काममा लिप्त भएका विभिन्न तथ्याङ्कले देखाएको छ । सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रारम्भिक अनुसन्धान प्रतिवेदन शुक्रबार बुझाएपछि आयोगले अनुसन्धान थालेको हो । सुरुमा इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेकोमा भ्रष्टाचार मुद्दा नै बलियो हुने निष्कर्षमा दुवैलाई अख्तियार बुझाइएको छ ।

अख्तियारले आइतबार उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतबाट म्याद लिएको छ । प्रहरीले ठगी तथा आपराधिक लाभ मुद्दामा उनीहरूमाथि अनुसन्धान गरिरहेको थियो । सरकारी सम्पत्ति हिनामिना भएकाले आपराधिक लाभभन्दा भ्रष्टाचार मुद्दा नै बलियो हुने निष्कर्षमा सरकारी वकिल कार्यालयबाट निर्णय गरी उनीहरूलाई आयोग बुझाइएको काठमाडौं परिसरका एक अधिकारीले बताए । ‘अख्तियारले मुद्दा दायर गरेपछि थप केही लेखी आएमा यताबाट पनि अनुसन्धान हुन्छ,’ ती अधिकारीले भने ।

सशस्त्र प्रहरीकै पत्रका आधारमा उनीहरू गत २० असारमा पक्राउ परेका थिए । इन्स्पेक्टर गुरुङ करिब ६ वर्ष कीर्तिपुरस्थित विद्यालयको लेखा अधिकृत भएर काम गरेकी थिइन् । विद्यालयको आम्दानीबापतको रकम कल्याण कोषमा जम्मा गर्नुपर्नेमा गैरकानुनी रूपमा निकालेर उनले साथी लामालाई दिँदै आएकी थिइन् । कतिपय रकम कनेक्ट आइपिएसबाट लामाको कम्पनीको खातामा स्थानान्तरण गरिएको छ ।

उनले स्कुलको कमान्डेटको नम्बर भनेर लामाकै नम्बर बैंकलाई दिएर झुक्याएकी थिइन् । यसमा सुरुमा सशस्त्र प्रहरीले डिआइजी युवराज अर्यालको नेतृत्वमा छानबिन समिति बनाएर आन्तरिक रूपमा छानबिन गरेको थियो । छानबिनले इन्स्पेक्टरकै योजनामा हिनामिना भएको निष्कर्ष निकालेको थियो । सुरुमा उनीहरूलाई पैसा फिर्ता गर्ने मौका दिए पनि फिर्ता गर्न नसकेपछि कानुनी प्रक्रिया अघि बढेको थियो । अचम्म के छ भने त्यति ठुलो रकम लामाको खातामा पनि छैन । त्यति रकम कहाँ लगानी गरे भन्ने खुल्न सकेको छैन ।

हिनामिना प्रकरणमा विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिग्विजय सुवेदी, भूपेन्द्र केसी तथा रामजंग पाण्डेको पनि लापरबाही देखिएको छ । लेखापालले त्यसरी स्कुलको करोडौँ रकम हिनामिना गर्दा उनीहरूले सोधी–खोजी गरेका थिएनन् । साथै, विद्यालयको करोडौँ आम्दानीको खोजी नगर्ने कल्याण शाखाका अधिकारी पनि छानबिनमा छन् । सशस्त्रमा हरेक वर्ष लेखा अधिकृत हेरफेर हुनेमा गुरुङ भने करिब ६ वर्ष एउटै कार्यालयमा कार्यरत थिइन् ।

नयाँ लेखा अधिकृत त्यहाँ गएर हिसाब बुझ्ने क्रममा मात्र बदमासी बाहिर आएको थियो । भेप तस्करीमा सघाउने इन्स्पेक्टर कारबाहीमा परेका छन । चीनबाट हुँदै आएको विद्युतीय चुरोट (भेप) तस्करीमा सुरक्षा निकायकै मिलेमतो देखिएको छ । तस्करीमा सघाएको आरोपमा सशस्त्र प्रहरी बलले मुस्ताङको नेचुङ बिओपीका तत्कालीन प्रमुख रहेका इन्स्पेक्टर वैकुण्ठ घिमिरेलगायतका प्रहरीलाई कारबाही गरेको छ ।गत १ जेठमा मुस्ताङमा बरामद भेप तस्करीमा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको मिलेमतो देखिएको हो ।

भन्सार नाकाबाट छुटेको गाडी पछि लोमाङथान– २, एक्लेभट्टीबाट बरामद भएको थियो । नक्कली प्रज्ञापनपत्रका आधारमा दुईवटा गाडीमा राखेर भेप तस्करीको प्रयास भएको थियो ।सशस्त्र प्रहरीले सीमामा कार्यरत आफ्ना सुरक्षाकर्मीमाथि छानबिन गर्दा तस्करीमा संलग्न समूहसँग सम्बन्ध भेटिएको हो । ‘उनीहरूले सुरक्षा निकायदेखि भन्सारका कर्मचारीसम्मका केही कर्मचारीलाई प्रभावित पारेको देखिन्छ,’ छानबिनमा संलग्न सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भने ।सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनीले छानबिन समिति गठन गरी स्थलगत रूपमा अनुसन्धान गरेको थियो, जहाँ मिलेमतो देखिएको हो ।

तर, घटनामा नेपाल प्रहरी र भन्सारका कर्मचारीको भूमिकामाथि भने छानबिन भएको छैन ।मिलेमतोमा गाडी पास भएको सूचनापछि भन्सार र सशस्त्र प्रहरीको टोलीले ना.६ख ४७४३ र ना.५ख ७९२१ नम्बरको कन्टेनरसहित धादिङ जिल्लाको धुनीबेँसी नगरपालिका– १ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका– २ बस्ने फुन्चुदोर्जे तामाङ र भोटेकोशी गाउँपालिका– ३ बस्ने पासाङ शेर्पालाई पक्राउ गरेको थियो । इलेक्ट्रिक भेपसहित २५९ कार्टुन विभिन्न सामान बरामद भएको थियो ।

अनुसन्धानको क्रममा भन्सारको प्रज्ञापनपत्र नै नक्कली भएको खुलेपछि चालकद्वय सन्तोष र फुन्चुदोर्जेसहित सिन्धुपाल्चोकका रवीन्द्र दर्नाल तथा हिमेत तामाङलाई पनि पक्राउ गरी सरकारी लिखत किर्ते मुद्दा दायर गरिएको छ । भेपलगायत सामानको विषयमा भन्सार कार्यालयले थप छानबिन गरिरहेको छ । पक्राउ परेका दर्नालले आफूलाई ठमेलमा एक चिनियाँ नागरिकले कालो झोलामा राखेर नक्कली प्रज्ञापनपत्र दिएको बयान गरेका छन् ।

तर, ती चिनियाँ नागरिकको पहिचान नहुँदा गिरोहका नाइके भेटिएका छैनन् । यो समूहले विगतमा पनि यसरी नै भेपलगायत सामान तस्करी गर्दै आएको आरोप छ । सशस्त्रको छानबिनमा तस्कर समूहले यसमा सशस्त्र प्रहरीसहित नेपाल प्रहरी र भन्सारका कर्मचारीलाई समेत प्रभावमा पारेको भेटिएको छ । तर, नेपाल प्रहरीका गण्डकी प्रदेशका प्रमुख डिआइजी दीपेन्द्र जिसी भने सो घटनामा प्रहरीको मिलेमतो नभेटिएको दाबी गर्छन् । कोरला नाकाबाट रातिको समयमा मालवाहक सवारीसाधनको आवातजावात रोक भए पनि राति ९ बजे दुई कन्टेनर छाडिएको थियो ।

सरकारले विद्युतीय चुरोट आयातमा रोक लगाए पनि उच्च माग भएकाले चीनबाट तस्करी हुने गरेको छ । उच्च नाफा हुने भएकाले सुन तस्करीमा संलग्न गिरोहसमेत यसमा लागेको जानकार बताउँछन् । पछिल्लो समय बारम्बार तस्करीको भेप बरामद भइरहेको छ । तर, यो गिरोहमा आबद्ध उच्च तहका व्यक्तिहरू भने अनुसन्धानमा आउन सकेका छैनन् । यसमा चिनियाँदेखि भारतीय व्यक्तिहरूसमेत संलग्न रहेको बताइन्छ ।

यसैविच झापा र सुनसरीमा कार्यरत अधिकृतहरू छानबिनमा परेका छन । झापा र सुनसरीमा कार्यरत सशस्त्र प्रहरीका एसपीसहितका अधिकृतहरूलाई मुख्यालय झिकाएर सशस्त्र प्रहरीले छानबिन थालेको छ । तस्करीमा शंकास्पद भूमिका देखिएपछि जिम्मेवारीबाट हटाएर छानबिन थालिएको हो । झापाका अम्बिकाप्रसाद जोशी तथा सुनसरीका श्यामकुमार कार्कीलाई मुख्यालय तानिएको हो ।

त्यस्तै, डिएसपीलगायत अन्य अधिकारीलाई पनि जिम्मेवारीबाट हटाइसकिएको स्रोत बताउँछ । गृहमन्त्री सुधन गुरुङ दुई साताअघि ती जिल्लाको अनुगमनमा गएका थिए । अनगुमनका क्रममा उनलै पाएको सूचनाका आधारमा सशस्त्र प्रहरीले छानबिन थालेको हो । यसरी सशस्त्र प्रहरीका जिम्मेबार अधिकृत आर्थिक लाभमा लिप्त भएपछि जनता समेत हैरान भएका छन ।

सम्बन्धित समाचार