हरिश्चन्द्र बाग, कञ्चनपुर, ०६ फागुन । ‘दलाली गर’ क्रान्तिकारी गीत फागुन ७ गते सार्वजनिक हुँदै छ ।
देशको वर्तमान सामाजिक तथा राजनीतिक परिवेशलाई उजागर गर्ने क्रान्तिकारी गीत ‘दलाली गर’ यही फागुन ७ गते प्रजातन्त्र दिवसको दिन बिहान ९ बजे गौरव जोशी युट्युब च्यानलबाट सार्वजनिक हुने भएको हो ।
उक्त गीतको भिडियोबारे आज महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।गौरव जोशी र सन्तोष जोशीको शब्द सिर्जना तथा कथा लेखन एवं निर्देशन रहेको उक्त गीतमा डा. कृष्ण दत्त जोशी (बोक्सर) ले मुख्य भूमिका निर्वाह गरेका छन् ।
गीतमा धर्मेन्द्र मल्ल र संगीता मल्लको सशक्त स्वर रहेको छ भने गोपाल दयालको संगीत संयोजनले यसलाई थप आकर्षक बनाएको छ । छायांकन पक्षलाई दिपेश ठगुन्नाले निर्देशन गरेका छन् ।
गीतको छायांकन कञ्चनपुरका तिलाचौर, बनगाउँ लगायतका विभिन्न स्थानहरूमा गरिएको छ ।उक्त गीतमा गाउँ समाजका विविध समस्याहरू उजागर गर्ने प्रयास गरिएको छ ।
बेरोजगारी, परदेशी जीवनका पीडा, किसानका समस्या, सहकारी पीडितहरूको दुःख, अस्पताल तथा स्वास्थ्य सेवासम्बन्धी समस्या, महिला-पुरुषका भोगाइहरू जस्ता विषयवस्तुहरू समेटिएका छन् ।
सिर्जनात्मक रूपमा सामाजिक यथार्थलाई चित्रण गर्ने उक्त गीतले दर्शक तथा श्रोताहरूको मन जित्ने विश्वास गरिएको छ ।
समाजमा देखिएका विकृति र विसंगतिहरूलाई कलात्मक रूपमा प्रस्तुत गर्ने उक्त गीतको प्रतीक्षा दर्शकहरूका लागि निकै उत्सुकतापूर्ण बन्ने देखिन्छ । गीत सार्वजनिक भएपछि त्यसको युट्युब लिङ्क यस समाचार भित्र पनि अपडेट गरिने छ । कृपया प्रतीक्षा गर्नुहोला ।

