मङ्ल, साउन १२, २०८३

तरकारीको जोहो गर्न शुक्लाफाँटा जंगल पसेका कञ्चनपुरका सबै महिला सकुशल


बेलडाँडी,च्याउ, पटपुरा टिप्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (वनजंगल) पसेका कञ्चनपुरका १७ महिला सबै सकुशल रहेको र घरपरिवारको सम्पर्कमा आएका छन । आइतबार बिहान ११ बजेतिर च्याउ, पटपुरा टिप्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (वनजंगल) पसेका कञ्चनपुरका १७ महिला सम्पर्कमा आएका हुन् । २४ घण्टाभित्रै उनीहरू घरपरिवारको सम्पर्कमा आएका छन्र ।

वर्षातसँगै च्याउ, पटपुरासहितका तरकारीको जोहो गर्नका लागि जंगल पसेका बेलडाँडी, बेदकोट र भीमदत्त नगरका महिला हराएका थिए । बेलडाँडी गाउँपालिका– २ कालिकिचका तीन, बेदकोट नगरपालिका– १० चतहरी नयाँगाउँका तीन र भीमदत्त नगरपालिका– १९ बागफाँटाका ११ महिला सम्पर्कमा आएका हुन् ।

बेलडाँडीका तीन महिलालाई नेपाली सेनाको टोलीले जंगलबाटै उद्धार गरेको छ भने बागफाँटा र चतहरी नयाँगाउँका १४ महिला आफैँ घर आएका हुन् । वर्षातका वेला वनमा पाइने पटपुरा, च्याउ, जिब्रेसहितका तरकारीको जोहो गर्नका लागि उनीहरू समूह–समूह बनाएर निकुञ्ज प्रवेश गरेका थिए ।

भीमदत्त नगरपालिका– १९ का वडाध्यक्ष जगुराम चौधरीले बागफाँटाका र बेदकोटका १४ महिला वर्षात् र बाटो बिर्सिएर जंगलमै बसेको भोलिपल्ट वर्षा रोकिएपछि घर फर्किएको बताए । ती सबै महिला मालुबेला पोस्ट हुँदै निकुञ्ज प्रवेश गरेका थिए । बेलडाँडीका महिलासँग मोबाइल भएर खोज्न केही सहज भएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी डिएसपी टेकबहादुर रावतले निकुञ्जको जंगलमा हराएका सबै महिला परिवारको सम्पर्कमा आएको बताए ।

उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, निकुञ्जका कर्मचारीसहित स्थानीयले खोजबिन गरेका थिए । सन्तान र घरपरिवारका लागि तरकारीको जोहो गर्न जोखिम मोलेर जंगल पसेका आमाहरू घर नफर्किएपछि दुधेबालकदेखि घरपरिवार सदस्य चिन्तित भएका थिए । ढिलै भए पनि घरपरिवारको सम्पर्कमा आएपछि परिवारमा खुसियाली छाएको छ ।

कञ्चनपुर भीमदत्त, बेदकोट र बेलडाँडीका महिला जंगलमा हराएपछि क्षेत्रका सांसदत्रय जनकसिंह धामी, दीपक बोहरा, ज्ञानेन्द्रसिंह महतासहित प्रमुख जिल्ला अधिकारी मदन कोइराला, जनप्रतिनिधि, सुरक्षा निकायदेखिका सरोकारवाला गम्भीर भएर खोज तथा उद्धारमा खटिन मातहतका निकायलाई निर्देशन दिएका थिए ।

सम्बन्धित समाचार