दार्चुला, असार १८। हिजो रातिको अविरल वर्षासँगै आएको बाढीले दार्चुलाको मार्मा गाउँपालिका–४ स्थित मर्मती क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। नदीको बहाव अत्यधिक बढेपछि नदी किनारमा कटान भएको छ भने आसपासका संरचनासमेत जोखिममा परेका छन्।
स्थानीयवासीका अनुसार वर्षायाममा हरेक वर्ष यस्ता समस्या दोहोरिने गरे पनि दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायबाट प्रभावकारी पहल हुन सकेको छैन। नदी नियन्त्रणका लागि जाली पिल्लर (गेबियन संरचना) निर्माण गरिए पनि पर्याप्त गहिराइसम्म मजबुत आधार नबनाइएकाले बाढीको दबाब थेग्न नसकेको स्थानीयको भनाइ छ।स्थानीयले चारदेखि पाँच मिटर गहिराइसम्म बलियो जगसहित संरचना निर्माण गरिएको भए अहिलेको क्षति कम हुन सक्ने बताएका छन्।
विकास निर्माणका क्रममा गुणस्तर, प्राविधिक मापदण्ड र भविष्यमा आउन सक्ने बाढीको जोखिमलाई ध्यानमा राखेर दिगो संरचना निर्माण गर्नुपर्ने उनीहरूको माग छ।घटनापछि सम्बन्धित निकायले तत्काल स्थलगत निरीक्षण, प्राविधिक अध्ययन तथा आवश्यक सुधारका काम अघि बढाई भविष्यमा यस्ता समस्या दोहोरिन नदिने दीर्घकालीन योजना कार्यान्वयन गर्नुपर्ने स्थानीयको जोड छ।स्थानीय विवेक बिष्टका अनुसार स्थानीयको सुरक्षा, पूर्वाधारको संरक्षण र सार्वजनिक लगानीको सही उपयोग सुनिश्चित गर्न सम्बन्धित निकायले समयमै आवश्यक कदम चाल्नुपर्ने आवश्यकता रहेको छ।

