महेन्द्रनगर, असार ९ । कञ्चनपुरका वरिष्ठ निर्माण व्यवसायी लोकबहादुर ठकुराठी सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी संघको सल्लाहकार पदमा चयन भएका छन्।प्रदेश निर्माण व्यवसायी संघको हालै बसेको बैठकले ठकुराठीलाई सल्लाहकारमा चयन गर्ने निर्णय गरेको हो। ठकुराठी निर्माण व्यवसायी संघ कञ्चनपुरका पूर्व अध्यक्ष समेत हुन्।
निर्माण व्यवसाय क्षेत्रमा शालीन, भद्र तथा बौद्धिक व्यवसायीका रूपमा परिचित ठकुराठी लामो समयदेखि यस क्षेत्रमा सक्रिय रहँदै आएका छन्। निर्माण व्यवसायको विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा संस्थागत सुदृढीकरणमा उनले महत्वपूर्ण योगदान पुर्याएको व्यवसायीहरूले बताएका छन्।
डडेल्धुरालाई पुर्ख्यौली थलो बनाएका ठकुराठी हाल भीमदत्त नगरपालिका–४, गोबरैयाका बासिन्दा हुन्। उनको परिवार पुर्ख्यौली रूपमा नै निर्माण व्यवसायमा आबद्ध रहँदै आएको छ।निर्माण व्यवसायसँगै ठकुराठी विभिन्न सामाजिक तथा धार्मिक संघ–संस्थामा समेत सक्रिय रूपमा संलग्न छन्। प्रदेश निर्माण व्यवसायी संघको सल्लाहकारमा उनको चयनले संघलाई अनुभव, मार्गदर्शन र संस्थागत विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

