कञ्चनपुर।गाउँमा परालमा आगो लगाएको शंकामा कञ्चनपुरकी एक महिलामाथि निर्धात कुटपिट भएको छ। बेलौरी नगरपालिका–२, दिनापुरकी ३५ वर्षीया कविता स्वाँरमाथि छिमेकीहरूले कुटपिट गरेका हुन्।
छिमेकी मीना चौधरीको परालमा आगो लगाएको आरोपमा उनलाई बाँधेर कुटपिट गरेका थिए। २५ माघमा मीना चौधरीको परालमा आगो लागेको थियो। मीनाको परालमा आगो लागेकै छेउबाट स्वाँर बजार गएर घर फर्किँदै थिइन्। सोही क्रममा परालमा आगो किन लगाएको भन्दै निर्घात कुटपिट भएको हो।
कविता स्वाँरले आफूले आगो नलगाएको बताउँदै आएकी छिन्। उनले मीना चौधरीको परालमा आगो लागेकै वेला तोरी पेलेर घर फर्किँदै गरेको बताइन्। त्यति नै वेला मान्छेहरूले आगो यसैले लगाएको हो भन्दै अमृता मगर, धनलक्ष्मी जिसीसहितको समूहले एक्कासि आएर हात बाँधेर कुटपिट गरेको उनले बताइन्।
‘तोरी पेलेर हातमा तेलको गेलेन बोकेर घर फर्किँदै थिए, आगो निभाउन आएकाहरूले घर नपुग्दै ममाथि कुटपिट गरे, घटनास्थल पुगेको प्रहरीले अस्पताल पुर्यायो, धनगढीको माया मेट्रो अस्पतालमा उपचार गरेर घर फर्किएकी छु, बोल्न सक्ने अवस्थामा छैन, ममाथि कुटपिट गर्ने १३ जनाविरुद्ध प्रहरीमा उजुरी दिएकी छु,’ उनले भनिन्।
परालमा आगो लगाएको आरोपमा यसरी महिलामाथि मरणासन्न हुने गरेर कुटपिट गरिएपछि प्रहरीले घटनमा संलग्न आरोपीलाई पक्राउ गर्न थालेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एपसी चक्रराज जोशीले पीडित महिलाले दिएको उजुरीका आधारमा आठजनालाई पक्राउ गरिएको बताए। उनका अनुसार कुटपिटमा संलग्न खेम चौधरी, प्रदीप चौधरी, किशन चौधरी, अनुरूप चौधरी, धनलक्ष्मी चौधरी, मीना चौधरी, पूर्णलक्ष्मी चौधरी, अमृता चौधरीलाई पक्राउ गरिएको छ।
बाँकीलाई पनि पक्राउ गरेर कारबाही गरिने उनले बताए। ‘पीडितले दिएको किटानीका आधारमा सबैलाई पक्राउ गरेर उनीहरूमाथि अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाउँछौँ,’ उनले भने, ‘घटनाको थप अनुसन्धान जारी छ।’

