कञ्चनपुर कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर–९ सुन्दरपुर बैजनाथ टोलस्थित बैजनाथ बाबाको मन्दिर मा ऐतिहासिक एक महिना लामो मालामास महायज्ञ आयोजना हुने भएको छ।
आगामी २०८३ साल जेठ ३ गतेदेखि असार ३ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञ विश्व शान्ति तथा बैजनाथ बाबाको मन्दिरको सर्वाङ्गीण विकासार्थ गाउँवासीहरूको आयोजनामा हुन लागेको हो।
करिब ३/४ वर्षपछि आउने मालामासको अवसरमा आयोजना गरिने यस महायज्ञमा श्रीमद्भागवत महापुराणसहित विभिन्न भगवानहरूको दिव्य लिलाको वर्णन तथा नित्य धार्मिक प्रवचन गरिने मूल उपभोक्ता समितिका अध्यक्ष मनोराज जोशी ले बताए।
त्यसैगरी कार्यक्रममा राष्ट्रिय कलाकारहरूद्वारा भजन तथा दिव्य सांगीतिक प्रस्तुति रहने र विभिन्न भगवानहरूको आकर्षक झाँकीसमेत प्रस्तुत गरिने भजन गायक निखील प्रसाद जोशी ले बताए।
महायज्ञको तयारी कार्य आजैदेखि सुरु भइसकेको आयोजकले जनाएको छ। गाउँवासीहरूको सक्रिय आयोजनामा हुने यस धार्मिक कार्यक्रममा सुन्दरपुरवासीहरूले उत्साहजनक सहयोग गरिरहेका छन्।

