बुध, बैशाख २३, २०८३

पर्सामा विद्यालयको पर्खालको विषयमा झडप हुँदा चारजना घाइते


पर्साको छिपहरमाई गाउँपालिका– २, टिहुकीमा विद्यालयको पर्खाल (देवाल)को विषयलाई दुई पक्षबिच कुटाकुट भएको छ।

नेरा प्रावि टिहुकीको बाउन्ड्री वाल निर्माणको लागि बिहीबार टिहुकीको मन्दिरमा डाकिएको सार्वजनिक छलफलमा दुई पक्षबिच कुटाकुट भएको हो।सो क्रममा बडकी टिहुकीका ४० वर्षीय रमेश साह, २० वर्षीय राजकुमार गिरि, ४३ वर्षीय संजय साह कानु र ४९ वर्षीय बुचुन मियाँ घाइते भएका छन्।

जसमा रमेश र राजकुमारको टाउको फुटेको छ भने संजय र बुचुनको चोटपटक लागेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए।प्रहरी निरिक्षक पौडेलले झडपमा परेर घाइते भएकाहरूको नारायणी अस्पतालमा उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल वीरगन्ज पठाइएको बताए।

उनका अनुसार विद्यालयको बाउन्ड्री वाल निर्माण गर्दा सिँचाइको जमिनलाई पनि समेट्नुपर्ने एक पक्षको अडान र सो जमिन छोड्नुपर्ने अर्को पक्षको अडानका कारण झडपको अवस्था आएको हो।कुटपिट गर्नेहरू घटनालगत्तै फरार भएकाले खोजी भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।

सम्बन्धित समाचार