काठमाडौं ,जेन–जी आन्दोलनमा दमनको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी ओली १३ दिनपछि थुनामुक्त भएका छन्। सर्वाेच्च अदालतको आदेशअनुसार उनलाई बिहीबार हाजिरी जमानीमा छाडिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार स्वास्थ्य जाँचपछि त्रिवि शिक्षण अस्पतालमा आफन्तको जमानीमा उनलाई रिहा गरिएको छ।
ओली पक्राउ परेकै दिनदेखि उपचारका लागि अस्पतालमा छन्। सर्वाेच्च अदाललते गत सोमबार अब ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थप नगर्न परमादेश दिएको हो । लेखकलाई पनि रिहा गर्ने प्रक्रिया अघि बढिसकेको प्रहरीले जनाएको छ।
रिहा भए पनि उनीहरूमाथि अनुसन्धान भने जारी रहने प्रहरीले जनाएको छ। खोजेको समयमा उपस्थित हुने सर्तमा दुवैलाई थुनामुक्त गर्ने निर्णय प्रहरीले गरेको हो। ओली र लेखकविरुद्ध लापरबाही गरेर ज्यान मार्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ। जसमा १० वर्षसम्म कैद सजाय हुन सक्ने प्रावधान मुलुकी अपराध संहितामा छ। गत १४ चैतमा दुवैजना पक्राउ परेका थिए।

