आइत, असार ७, २०८३

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय


काठमाडौँ । केपी शर्मा ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो ।सरकारी वकिलको सहमतिमा ‘खोजी भएको बेला उपस्थित हुनेगरी’ ओली र लेखकलाई रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो । काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद लिएर प्रहरीले उनीहरूलाई हिरासतमा राखेको थियो ।बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ मा चौथो पटक म्याद नथप्न र अनुसन्धान पुरा नभएमा हिरासतमुक्त गरेर थप अनुसन्धान र तहकिकातको काम सम्पन्न गर्न परमादेश जारी गरेको थियो ।

सर्वोच्चको आदेश अनुसार काठमाडौँ जिल्ला अदालतबाट थप भएको तेस्रो म्याद बुधवारसम्म मात्रै थियो ।सर्वोच्च अदालतका न्यायाधीशद्ववय विनोद शर्मा र सुनिल कुमार पोखरेलले उनीहरूलाई चैत २५ भन्दा पछि हिरासत मुक्त गर्न आदेश गरेका थिए ।

चैत २१ गतेबाट लागु हुने गरी काठमाडौँ जिल्ला अदालतले तेस्रो पटक ५ दिनको म्याद दिएको थियो ।सो अवधिमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चल्ने र नचल्ने निर्णय भएमा सोही अनुसार गर्न र सो हुन नसके तत्पश्चात् उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को प्रक्रिया पुरा गरेर हिरासत मुक्त गरेर गरेर थप अनुसन्धान तहकिकातको काम सम्पन्न गर्न परमादेश जारी गरेको थियो।

सम्बन्धित समाचार