बिहि, बैशाख २४, २०८३

निरन्तरको हिमपातले कञ्चनजंघा क्षेत्रको पर्यटन गतिविधि प्रभावित


पर्यटकीय सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा भएको निरन्तर हिमपातले कञ्चनजंघा क्षेत्रको पर्यटन गतिविधि प्रभावित बनेको छ ।

सामान्यतः यही समयमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने भए पनि यसपटक मौसम प्रतिकूल बन्दा पर्यटक आगमनमा उल्लेख्य कमी आएको स्थानीय व्यवसायीले बताएका छन् ।

यस्तै, स्थानीय जनजीवन पनि प्रभावित बनेको छ । सिजनमा विदेशी पदयात्रीको घुइँचो लाग्ने लोनाक अहिले शान्त छ । होटेलका ढोका खुलेका छन् । तर, पाहुना छैनन् । ‘कोरोनाको समयमा बाहेक यो सिजनमा यति सुनसान कहिल्यै भएको थिएन,’ लोनाक क्षेत्रमा होटेल व्यवसाय सञ्चालन गरेका स्थानीय व्यवसायी सेराप शेर्पाले भने, ‘हिउँ परेपछि बाटो नै हरायो, पर्यटक आउन पनि समस्या भयो ।

’ हिमपातका कारण घुन्सा, खम्बाचेन क्यापजस्ता पर्यटकीय गाउँ पनि सुनसान छन् । सामान्यतया यो समय गाइड, पोर्टर, होटेल व्यवसायी सबै व्यस्त हुने वेला हो । तर, अहिले उनीहरू हात बाँधेर मौसम खुल्ने प्रतीक्षामा छन् । हिउँले ढाकिएका पदमार्ग जोखिमपूर्ण बनेका छन् ।

लोनाकवरिपरिका हिमाल घ्याङ पिक, धिमी गिल्ला, १५ पिक, नेपाल पिक, टुइन्स पिक, किराँत चुली, पाथीभरा पिक, जनकचुली यतिवेला सबै सेताम्मे छन् । हिउँ नै हिउँको यो दृश्य स्थानीयका लागि चुनौती बनेको छ ।

पर्यटनमा निर्भर यस क्षेत्रका लागि सिजन भनेकै आम्दानीको समय हो । ‘एक हप्ता यस्तै भयो भने वर्षभरकै कमाइ गुम्छ,’ शेर्पाले भने । यद्यपि, आइतबारदेखि यहाँको मौसम केही खुलेको छ । यससँगै व्यवसायीको आशा पलाएको छ । यहाँका बासिन्दा छिट्टै मौसम खुल्ने र पर्यटक आगमनको पर्खाइमा छन् ।

सम्बन्धित समाचार