आइत, असार ७, २०८३

बैतडीमा तीनदिनदेखि विद्युत सेवा अवरुद्ध, वर्षाले समस्या


बैतडी,२८भदौँ ।वर्षा र चट्याङका कारण बैतडीमा ३ दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । बुधबारदेखि अवरुद्घ भएकाे विद्युत सेवा अझै नियमित रूपमा सुचारू हुन सकेकाे छैन् । यहाँस्थित ३३ र ११ केभी प्रशारण लाईनकाे विभिन्न क्षेत्रमा समस्या आएकाे हाे। विद्युत सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयकाे सेवा प्रवाहमा पनि समस्या भएकाे छ। नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् भने विद्युतीय उपकरण चलाउन पनि सकस भएको छ। विद्युत नहुँदा अन्धकारमा बस्न बाध्य हुनुपरेकाे दाेगडाकेदार गाउँपालिका ३ श्रीकाेटका गणेश विष्टले बताउनुभयाे।उहाँले भन्नुभयाे,” बिजुलीबत्ती नहुँदा अन्धकारमा बस्नुपरेकाे छ, माेबाइल चार्ज गर्न समेत समस्या भएकाे छ। चार्ज नहुँदा सञ्चारविहीन हुनुपरेकाे छ। “नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पाैडेलका अनुसार विद्युत सेवा नियमित सुचारूका लागि लगातारको बर्षाले गर्दा समस्या भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे,” लाइनमा आएकाे समस्या केही हदसम्म समाधान भएकाे छ, अब मुख्य फेडरबाट लाइन चलिरहेको छैन् । लगातारकाे वर्षाले नियमित विद्युत सेवा सुचारू गर्न समस्या भएकाे छ।”यहाँ बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेकाे छ। माैसम पूर्वानुमान महाशाखाले शनिबारसम्म वर्षा हुने जनाउदै बैतडीसहित सुदूरपश्चिमका ६ जिल्ला रेड जाेडमा राखेकाे छ। लगातार वर्षा भइरहेकाेले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गर्नुभएकाे छ। उहाँले भन्नुभयाे,” यहाँ दुई दिनदेखि लगातार वर्षा भइरहेकाे छ। माैसम पुर्वानुमान महाशाखाले बैतडीलाई रेड जाेडमा राखेकाे छ। सबैलाई सतर्कता अपनाउन आग्रह छ।”

सम्बन्धित समाचार

Leave a Reply