काठमाडौं।पाँच दिन चल्ने सेतो मत्स्येन्द्रनाथ (जनबहा: द्य:) को रथजात्रा शुक्लपक्ष अष्टमी (बिहीबार)बाट सुरु भएको छ । पहिलो दिन जमलस्थित जनबहालबाट रथलाई खटमा राखेर असन पुर्याइएको छ ।
शुक्रबार असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ भने तेस्रो दिन हनुमानढोकाबाट लगनसम्म पुर्याइन्छ । मत्स्येन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ । र, जात्राको चौथो दिन रथलाई लगन आमा रुख परिक्रमा गराइन्छ ।
पाँचौँ दिन ज्याबहाल द्य: लँ, युतुननि, कोहिति, भीमसेनस्थान, मरु, यतखा, नरदेवी किलागल, भेडासिंह, केलटोल हुँदै मच्छिन्द्र बहालसम्म रथजात्रा हुनेछ ।आर्यावलोकितेश्वर अर्थात् मत्स्येन्द्रनाथलाई मानव जगत्को भलो चाहने भगवान्को रूपमा पुज्ने गरिन्छ ।
यो जात्रा १२औँ–१३औँ शताब्दीदेखि मनाउँदै आएको इतिहास छ । काठमाडौंमा सेतो मत्स्येन्द्रनाथको जात्रा सकिएपछि पाटनमा रातो मत्स्येन्द्रनाथको जात्रा सुरु हुन्छ ।

