सोमबार साँझ आएको भीषण हावाहुरीका कारण रौतहटको चन्द्रपुर नगरपालिकामा ठुलो क्षति पुगेको छ । विशेषगरी वडा नम्बर ३ मा लगाइएको करिब डेढ करोड रुपैयाँबराबरको केराखेती पूर्ण रूपमा नष्ट हुँदा किसानहरू गम्भीर संकटमा परेका छन् ।
चन्द्रपुर नगरपालिका– ३ स्थित गैँडाटारगाउँ केरा उत्पादनको मुख्य क्षेत्रका रूपमा परिचित छ ।यहाँका अधिकांश किसानले व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन् । तर, सोमबार आएको तीव्र हावाहुरीले हजारौँ बोट केरा ढालिदिँदा वर्षभरिको मिहिनेत एकैछिनमा नष्ट भएको स्थानीय किसान दिनेश न्यौपानेले बताए । उनका अनुसार लगानी, श्रम र समय सबै गुम्दा किसान आर्थिक रूपमा धराशायी हुने अवस्थामा पुगेका छन् ।
स्थानीय किसान वसन्त लामाले केराखेती गर्ने किसानले बर्सेनि प्राकृतिक विपत्तिको सामना गर्नुपरेको बताए । ‘हावाहुरी, रोग र कहिलेकाहीँ जंगली जनावरको आक्रमणले समेत खेती नष्ट हुन्छ, तर बिमा नहुँदा सबै क्षति आफैँले व्यहोर्नुपर्छ,’ उनले भने ।
उनका अनुसार केराखेतीको बिमा गरिनुपर्ने माग पटक–पटक उठाइए पनि सम्बन्धित निकाय र बिमा कम्पनीहरूले चासो नदेखाउँदा किसानहरू निराश छन् ।किसानहरूले केराखेतीको बिमा व्यवस्था गर्नुपर्ने माग दोहो¥याएका छन् । तर, बिमा कम्पनीहरूले जोखिम बढी हुने भन्दै केराखेतीको बिमा गर्न आनाकानी गर्दै आएको उनीहरूको गुनासो छ ।
यसले गर्दा हरेक वर्ष प्राकृतिक प्रकोप आउँदा किसानहरू थप समस्यामा पर्ने गरेका छन् । उक्त हावाहुरीका कारण केरा मात्रै नभई मकैबालीमा समेत क्षति पुगेको छ । खेतमा लगाइएको मकै ढलेर नष्ट हुँदा थप आर्थिक नोक्सानी भएको किसानले बताए ।

