पवन औजी । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित एपेक्स गोदावरी एकेडेमीले विविध सांस्कृतिक कार्यक्रमसहित आफ्नो १९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ।
सुदूरपश्चिम विश्वविद्यालयका शिक्षा सङ्काय प्रमुख प्रा. डा. मदनसिंह देउपाको प्रमुख आतिथ्यतामा २०८२ साल फाल्गुन ३० गते कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. देउपाले विगत उन्नाइस वर्षदेखि शैक्षिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको भन्दै विद्यालयको प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा पनि विद्यालयले शैक्षिक तथा अतिरिक्त गतिविधिहरूमा उत्कृष्ट कार्य गर्दै जाने विश्वास व्यक्त गर्दै विद्यालयको प्रगतिको कामना गर्नुभयो।

वार्षिक उत्सवका अवसरमा विद्यार्थीहरूले देशभक्ति गीत, नृत्य तथा सुदूरपश्चिमको संस्कृति र संस्कार झल्किने गौरा नाच र हुड्केउली नाच प्रस्तुत गरेका थिए। साथै जेन्जी आन्दोलनलाई झल्काउने प्रस्तुति देखाउँदा कार्यक्रमस्थलमा उपस्थित अतिथि तथा अभिभावक भावुक बनेका थिए। उत्कृष्ट प्रस्तुतिका लागि विभिन्न व्यक्तिहरूले विद्यार्थीहरूलाई पुरस्कारसमेत प्रदान गरेका थिए।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीपकबहादुर चन्दले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको नयाँ भवन निर्माण भइरहेको जानकारी दिनुभयो।

उहाँले आगामी वर्षदेखि उक्त भवनमा पठनपाठन सञ्चालन हुने बताउँदै पढाइसँगै नैतिक शिक्षा, खेलकुद तथा अन्य सिर्जनात्मक गतिविधिमा पनि विद्यालयले विशेष ध्यान दिने बताउनुभयो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गरिने उहाँले बताउनुभयो।
कार्यक्रम सञ्चालन अनन्त जोशी, सुधिर पन्त, जेनिसा भट्ट र युनिका चन्दले गर्नुभएको थियो। कार्यक्रममा सहभागी अतिथिहरूले विद्यार्थीहरूले उत्कृष्ट ढङ्गले कार्यक्रम सञ्चालन गरेको भन्दै प्रशंसा गरेका थिए। साथै कार्यक्रमलाई सभ्य र सफल बनाउन विद्यालयका शिक्षक–शिक्षिकाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।



