“प्रेम आफैंलाई थाहा नभई बस्न सक्छ । आँखा–आँखाबीच कुरा हुन्छ । आँखा जुधेर प्रेम बस्छ । प्रेम पोख्न कुनै शब्दको प्रयोग गर्न जरुरी छैन ।” ‘भ्यालेन्टाइन्स डे’ अर्थात् प्रेम वा प्रणय दिवस । प्रेम आफैंमा एक सुन्दर शब्द हो ।
अङ्ग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ अर्थात् आजको दिन प्रणय दिवस मनाउने चलन छ । पछिल्लो समय सबै उमेर समूहमा प्रेम दिवसले छुट्टै स्थान बनाएको देखिन्छ । सामाजिक सञ्जाल तथा सञ्चार माध्यमदेखि बजारका धेरै मलहरु प्रणय दिवसका लागि विशेष रुपमा सजाइएका छन् ।
होटल, रेस्टुरेन्ट, मल, पार्कलगायत विभिन्न ठाउँमा गुलाबको फूल, रङ्गीबिरङ्गी टेडी बियर, बेलुन र विभिन्न रङ्गीन बत्तीको सजावटले बजार आकर्षक देखिएको छ । फेब्रुुअरी ७ ‘रोज डे’ अर्थात् उपहारस्वरुप गुलाबको फूल दिने दिन, फेब्रुुअरी ८ ‘प्रपोज डे’ अर्थात् प्रेम प्रस्ताव राख्ने दिन, फेब्रुुअरी ९ ‘चकलेट डे’, फेब्रुुअरी १० ‘टेडी डे’, फेब्रुुअरी ११ ‘प्रमिस डे’ अर्थात् वाचा गर्ने दिन, फेब्रुुअरी १२ अर्थात् ‘किस डे’ अर्थात् सच्चा प्रेमको सङ्केत, फेब्रुुअरी १३ ‘हग डे’ अर्थात् अङ्कमाल गर्ने दिन र अन्त्यमा फेब्रुुअरी १४ ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवस ।
फेब्रुुअरी ७ देखि १४ दिनसम्मको अवधिलाई प्रेम सप्ताहको रुपमा मनाइन्छ । अर्थात् फेब्रुुअरी १४ को उत्कर्षमा पुग्नका लागि सुरुको दिनदेखि हरेक दिन कुनै न कुनै दिवस मनाउने गरिन्छ ।
प्रणय दिवसको इतिहास :
प्रणय दिवसको आफ्नो बेग्लै इतिहास छ । तेस्रो शताब्दीमा एक रोममा क्लोडियस नाम गरेका एक शासक थिए ।बिहे गरेपछि पुरुषको शक्ति र बुद्धि नष्ट हुने उनको मान्यता थियो ।
त्यही कारण उनले राज्यमा आजदेखि कुनै पनि अधिकारी वा सैनिकले बिहे गर्न नपाउने घोषणा गरिदिए । तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो निर्णय मन परेन । उनले यसको विरोध गरे ।सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए र केही अधिकारी र सैनिकले विवाह गरे ।
जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यताविपरीत प्रेम र विवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । त्यसपछि उनलाई कालकोठरीमा बन्दी बनाइयो ।अन्त्यमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए ।
मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिविहीन छोरीलाई दिनु ।’राजाले सन् २६९ को १४ फेब्रअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यही दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले प्रणय दिवस मनाउन सुरु गरेको मानिन्छ ।
सुरुवाती दिनमा विधिवत् रुपमा भ्यालेनटाइन डे मनाइन्थ्यो । त्यसबेला प्रेमी-प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदनप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो ।
अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदनप्रदान गर्ने भनेकै भ्यालेनटाइन डेमा नै भनिएको छ ।

