शुक्र, जेष्ठ २२, २०८३

दार्चुलाकाे दुई मतदान केन्द्रमा परेन मत


दार्चुला – प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि आज भएको मतदानमा मतदाता सहभागी नभएपछि दार्चुलाका दुई मतदान केन्द्रमा मतदान हुन सकेन ।स्थानीय मतदाताले मतदान नगरेपछि मतदानका लागिखटिएका कर्मचारी रित्तो मतपेटिका बोकेर फर्किएका छन् ।

नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रका मतदाताले निर्वाचन बहिष्कार गरेका हुन् । दुवै मतदान केन्द्रका अस्थायी मतदाता (कर्मचारी)ले मात्रै समानुपातिकतर्फ मतदान गरे ।गौरीशंकर मावि नागुका सहायक मतदान अधिकृत देवसिंह फर्सवानका अनुसार समानुपातिकतर्फ ९ मत खसेको छ ।

बाटो अप्ठ्यारो भएका कारण शुक्रबार मात्रै सदरमुकाम खलंगा फर्किने उनले बताए । यो मतदान केन्द्रमा ६०२ जना मतदाता थिए ।अपिहिमाल गाउँपालिकामा रहेको दुधिला आधारभूत विद्यालयमा समानुपातिकतर्फ ८ मत खेको छ । समानुपातिकतर्फको मात्रै मत लिएर सदरमुकाम फर्किएको मतदान अधिकृत प्रेमराज अवस्थीले जानकारी दिए ।

नागुबासीले एक महिनादेखि नागुमा सडक लगायतका विकास निर्माणको माग राख्दै निर्वाचन बहिष्कारको घोषणा गरेका थिए । नागुबासीलाई फकाउन राजनीतिक दलले सार्वजनिक अपिल, भर्चुअल संवादसमेत गरेका थिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले पनि स्थानीयसँग छलफल गरेका थिए ।यहाँका स्थानीयलाई बुधबारमात्रै पनि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यसचिव वैकुण्ठ अर्यालले नागु पुगेर छलफल गरेका थिए ।

तर स्थानीय आफ्नो अडानबाट टसमस भएनन् ।यस्तै अपिहिमाल गाउँपालिका–३ का केही बस्तीका बासिन्दाले फागुन १५ गतेबाट नो भोट अभियान चलाएका थिए । ०७४ सालमा भएको वडा विभाजनले वडा नम्बर ३ का अधिकांश वस्तीलाई अपायक ठाउँमा वडा कार्यालय रहेको भन्दै वडा विभाजन नभएसम्म मतदान नगर्ने निर्णय गरेका कारण स्थानीय मतदानमा सहभागि नभएको स्थानीय कमलसिह रोकायाले जानकारी दिए ।

सम्बन्धित समाचार