महेन्द्रनगर। नेपाली कांग्रेसले कञ्चनपुर क्षेत्र नम्बर २ मा बृहत् र्याली निकालेको छ। आइतबार क्षेत्र नम्बर २ का तीनवटै पालिकाको परिक्रमा गर्दै पूर्व-पश्चिम राजमार्गमा र्याली निकालिएको हो।
कञ्चनपुर-२ मा बृहत् र्याली निकालिएको प्रचारप्रसार समितिका संयोजक लालबहादुर ऐरले बताए। उनका अनुसार शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाको परिक्रमा गरी पूर्व-पश्चिम राजमार्गमा र्याली निकालिएको थियो।त्यसपछि शुक्लाफाँटाको झलारीमा कोणसभा आयोजना गरी कार्यक्रम सम्पन्न गरिएको उनले बताए।
कोणसभालाई कञ्चनपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनपी साउद, जिल्ला सभापति पदम बोकटीलगायतका नेताहरूले सम्बोधन गरेका थिए।उम्मेदवार साउदले नेपाली कांग्रेस देशभरबाट विजयी हुने दाबी गरे। ‘कांग्रेस देशभरबाट जित्छ, क्षेत्र नं. २ बाट पनि जित्छ। कांग्रेसको जित तपाईँहरूको मेहनतको जित हो,’ उनले भने, ‘हाम्रा अग्रजहरूको विचारधाराको जित हो, जित पक्कै हुनेछ।
निर्वाचित भएपछि जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले विकास निर्माण र जनताका समस्याको समाधानमा प्राथमिकता दिने बताए।‘हामी जनताका सेवक हौं। निर्वाचित भएपछि जनताको सेवामा जीवन समर्पण गर्ने गरी अघि बढ्नेछौं,’ साउदले भने, ‘यहाँको विकास निर्माणका कामलाई तीव्रता दिनेछौं, जनताका समस्या समाधान गर्नेछौं र हरेक दुई महिनामा जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

