शुक्र, जेष्ठ २२, २०८३

बेलडाँडीमा सत्ता संघर्ष चर्कियो: अध्यक्ष–उपाध्यक्ष एकअर्काविरुद्ध उजुरी, गाउँपालिका प्रशासन ठप्प


महेन्द्रनगर । बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले उपाध्यक्ष शान्ति नाथ र प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण विकबीच आइतबार भएको विवादलाई प्रशासन कार्यालय पुगाएर बल्झाएका छन् ।

सोमबार गाउँपालिका कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत विक सहित कर्मचारीहरुसित छलफलपछि अध्यक्ष रानाले प्रमुख प्रशासकीय अधिकृत विकलाई आफैंले प्रशासन कार्यालय ल्याएर उजुरी हाल्न लगाएका छन् । उपाध्यक्ष नाथ विरुद्ध अध्यक्ष राना आफैले पनि उजुरी दिएका छन् ।

उपाध्यक्ष नाथ सोमबार अध्यक्ष राना, प्रमुख प्रशासकीय अधिकृत विक सहित तीन जना विरुद्ध जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेकी छन् । उपाध्यक्ष नाथले शुक्रबार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आफूमाथि दुव्र्यवहार गरिएको भन्दै जाहेरी तयार गरेकी छन् ।अध्यक्ष राना र प्रमुख प्रशासकीय अधिकृत विक प्रशासन कार्यालय आएपछि उपाध्यक्ष नाथ प्रहरी कार्यालय पुगेकी हुन् ।

गाउँपालिकाको सभा कक्षमा अध्यक्ष रानाले उपाध्यक्ष नाथलाई सहभागी नगराई छलफल गरेका थिए । छलफलमा सहभागी कर्मचारीका अनुसार प्रमुख प्रशासकीय अधिकृत बिकले शुक्रबार उपाध्यक्ष नाथसित भएको विवाद र अन्य कर्मचारीले पनि आ आफ्नो धारणा राखेका थिए ।छलफलपछि अध्यक्ष राना हाकिम विकलाई आफ्नो गाडीमा बोकेर महेन्द्रनगर ल्याएका हुन् ।

सभा कक्षमा छलफल हुँदा उपाध्यक्ष नाथ आप्नै कार्यकक्षमा थिइन् ।शुक्रबार उपाध्यक्ष नाथले प्रमुख प्रशासकीय अधिकृत विकलाई उपाध्यक्ष कोशेली कार्यक्रमको बजेट सम्बन्धि छलफलका लागि कार्यकक्षमा बोलाएकी थिइन् ।

प्रमुख प्रशासकीय अधिकृतले आफू आउन नसक्ने र उपाध्यक्षलाई आफ्नो कार्यकक्षमा पठाउन भनेर खबर पठाएपछि त्यहाँ गएकी थिइन् । त्यसपछि उपाध्यक्ष नाथ र हाकिम बिच विवाद भएको थियो ।हाकिमसित विवादपछि कर्मचारीले उनीमाथि दुव्र्यवहार गरिएको भन्दै कार्यालय ठप्प पारेका थिए । त्यसपछि अध्यक्ष राना उपाध्यक्ष नाथसित छलफल नगरी मुद्दा मामिलामा लागेका छन् ।अध्यक्ष र उपाध्यक्षबीच २०७९ मा निर्वाचन जितेपछि सुरुदेखि आपशी द्वन्द्व छ ।

अध्यक्ष रानाले उपाध्यक्ष नाथलाई पन्छाएर एकलौटी गरी अघि बढेपछि उनी असन्तुष्ट छन् ।पछिल्लो पटक अध्यक्ष र उपाध्यक्षको आपशी विवादमा प्रमुख प्रशासकीय अधिकृत मुछिएका थिए ।उपाध्यक्ष अनुपस्थित बैठकबाट उपाध्यक्ष कोशेली कार्यक्रमको बजेट कटौती गरिएपछि प्रमुख प्रशासकीय अधिकृतसित विवाद बढेको हो ।

गाउँपालिका स्रोतका अनुसार उपाध्यक्ष कोशेली कार्यक्रमको बजेट कटौती गरी अध्यक्ष रानाले काँग्रेसका अन्य जनप्रतिनिधिलाई भाग लगाई दिएका छन् ।राना र नाथ दुबै काँग्रेसका हुन् । राना शिक्षक हुँदा काँग्रेसको उप सभापति निर्वाचित भएका नेता हुन् ।प्रमुख प्रशासकीय अधिकृत बिकले आफूमाथि दुव्र्यवहार गरिएकाले प्रशासन कार्यालयमा उजुरी दिएको बताए ।

सम्बन्धित समाचार