भोजराज जोशी महेन्द्रनगर। नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनपी साउद ले डेढ वर्षभित्र नागरिकलाई लालपुर्जा उपलब्ध गराउने बताएका छन्। मंगलबार शुक्लाफाँटा नगरपालिका–८ भमरभोजमा आयोजित मतदातासँगको भेटघाट कार्यक्रममा उनले कञ्चनपुर–२ का तीनवटै पालिकाका नागरिकलाई लालपुर्जा उपलब्ध गराइने बताएका हुन्।
उनले नेकपा नेतृत्वको सरकारले बढाएको राजस्व घटाइएको पनि बताए। ‘नेकपाको सरकारले न्यूनतम ८ प्रतिशत र अधिकतम २ सय प्रतिशत राजस्व लिएर लालपुर्जा दिने भनेको थियो,’ उनले भने, ‘त्यसलाई घटाएर ५ देखि १० प्रतिशत राजस्व कायम गराएका छौं।
भूमिहीनलाई निःशुल्क जग्गा उपलब्ध गराउने व्यवस्था गरिएको उनको भनाइ छ।’कञ्चनपुर क्षेत्र नम्बर २ का ३० वडामध्ये २२ वडामा जग्गा नापजाँचको काम सम्पन्न भएको साउदले बताएका छन्।कहाँ कति भयो नापी?कञ्चनपुर क्षेत्र नम्बर २ अन्तर्गत पर्ने बेदकोट नगरपालिकाका १० वटै वडामा जग्गा नापी सम्पन्न भएको छ। त्यसैगरी, कृष्णपुर नगरपालिकाका ७ वडामा नापी सम्पन्न भएको छ भने २ वडामा मात्र नापी हुन बाँकी छ।
वडा नम्बर ५ र ६ मा मात्र जग्गा नापजाँच हुन बाँकी रहेको छ। केही दिनमै वडा नम्बर ६ मा नापी सुरु हुने नगरपालिकाले जनाएको छ। यसैगरी, शुक्लाफाँटा नगरपालिकाका ५ वडामा नापी सम्पन्न भएको छ भने ३ वडामा नापी भइरहेको छ। यहाँका वडा नम्बर १, २, ३, ९ र १२ मा नापी सम्पन्न भएको छ भने वडा नम्बर ४, ५ र ११ मा नापी भइरहेको छ।

