महेन्द्रनगर । कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरूबीच प्रत्यक्ष संवाद गराउने उद्देश्यले आयोजना गरिएको “प्रत्यक्ष संवाद (ककस)” कार्यक्रममा कञ्चनपुर क्षेत्र नं. १ का १९ जना उम्मेदवारमध्ये ५ जना मात्र सहभागी भएका थिए।
उपस्थित हुने उम्मेदवारहरूमा नेपाली काँग्रेस का गोपी प्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनक सिंह धामी, राष्ट्रिय जनमोर्चा का राजाराम डगौंरा चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टी का देवेन्द्र बहादुर शाही तथा स्वतन्त्र उम्मेदवार यादव सिंह रहेका थिए।
यी पाँच उम्मेदवारले कार्यक्रममा आफ्नो दृष्टिकोण, विकास योजना र क्षेत्रीय एजेण्डाबारे धारणा प्रस्तुत गरेका थिए।एनएनएसडब्लुए केन्द्रीय कार्यालय, कञ्चनपुरको सह-आयोजनामा तथा जेसिज महेन्द्रनगर को आयोजनामा सम्पन्न कार्यक्रममा “परिवर्तनशील संसारको लागि नेताहरूको विकास” भन्ने नारासहित उम्मेदवारहरूलाई एउटै मञ्चमा उभ्याएर आफ्नो दृष्टिकोण, योजना तथा विकास एजेण्डा सार्वजनिक गराउने लक्ष्य राखिएको थियो।
कार्यक्रम जेसिज महेन्द्रनगरका अध्यक्ष लक्ष्मण दत्त पन्तको सभाध्यक्षतामा सम्पन्न भएको हो।तर क्षेत्र नं. १ मा उम्मेदवारको सहभागिता अपेक्षाकृत न्यून रह्यो। १९ जना उम्मेदवारमध्ये केवल ५ जना मात्र उपस्थित हुँदा कार्यक्रमको बहस सीमित दायरामै खुम्चिएको सहभागीहरूको प्रतिक्रिया थियो। प्रमुख दलका उम्मेदवारहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) तथा प्रभावशाली नेतृ, नेताहरू तारालामा तामाङ र बिना मगर लगायत १४ जना उम्मेदवार अनुपस्थित रहे।
कार्यक्रम आयोजकका अनुसार सबै उम्मेदवारलाई औपचारिक पत्राचारमार्फत निमन्त्रणा गरिएको थियो। तर केही उम्मेदवारले “काम विशेषका कारण उपस्थित हुन नसकेको” जानकारी गराएका थिए।यद्यपि, सहभागी तथा नागरिक समाजका प्रतिनिधिहरूले भने फरक धारणा व्यक्त गरेका छन्।
उनीहरूको भनाइमा जनताका प्रत्यक्ष सवाल, विकास एजेण्डा र विगतको कार्यसम्पादनबारे खुला बहस गर्नुपर्ने मञ्चबाट अनुपस्थित हुनु आफैंमा प्रश्नको विषय हो।विशेषगरी प्रदेश तथा संघीय तहमा मन्त्री पद सम्हालिसकेका नेताहरूको अनुपस्थिति झनै चासोको विषय बनेको छ।
“जनताको ठाडो प्रश्नको सामना गर्न असहज महसुस गरेर त अनुपस्थित भएनन् ?” भन्ने प्रश्न कार्यक्रमस्थलमै उठेको थियो ।उम्मेदवारहरूको सीमित उपस्थितिले कार्यक्रमको प्रभावकारितामा असर परेको सहभागीहरूको बुझाइ छ। बहस बहुआयामिक बन्न नसक्दा मतदाताले सबै उम्मेदवारको दृष्टिकोण तुलना गर्ने अवसर गुमाएको उनीहरूको भनाइ थियो ।
नागरिक समाजका अगुवाहरूले लोकतन्त्रमा प्रत्यक्ष संवाद र खुला बहस अपरिहार्य भएको उल्लेख गर्दै चुनावी प्रतिस्पर्धालाई स्वस्थ, पारदर्शी र उत्तरदायी बनाउन यस्ता मञ्चमा सबै उम्मेदवारको सहभागिता अनिवार्यजस्तै हुनुपर्ने बताएका छन्।
कञ्चनपुर-१ मा देखिएको यो परिदृश्यले ठूला दलहरू जनताको प्रत्यक्ष प्रश्नबाट टाढा बस्न खोजिरहेका त होइनन् भन्ने बहस सुरु गराएको छ। आगामी दिनमा यस्ता कार्यक्रमप्रति राजनीतिक दलहरूको दृष्टिकोण कस्तो रहन्छ भन्ने चासो अहिले मतदातामाझ बढ्दो छ।

