शुक्र, जेष्ठ २२, २०८३

प्रचण्डः अबको संघर्ष उत्पादन र समृद्धिका लागि, जनयुद्ध अझै समाप्त भएको छैन


काठमाडौं ,नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको संघर्ष समाप्त नभएको बताउँदै अबको संघर्ष उत्पादन र समृद्धिका लागि हुने बताएका छन्।

रुकुमको भूमे– २, खाबाङ बगरमा ३०औँ जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नयाँ पुस्ताले उठाएका मागहरू जनयुद्धकै निरन्तरता भएको उल्लेख गरे।

‘जेन–जी पुस्ताले उठाएका मागहरू शान्ति प्रक्रियाका क्रममा उठाइएका, तर शक्ति सन्तुलनका कारण पूरा हुन नसकेका मुद्दाहरूको निरन्तरता हुन्,’ उनले भने, ‘मुद्दाहरू बाँकी छन्, सपनाहरूको हिसाब अझै भएको छैन, हामीले त्यो बिर्सेका छैनौँ।

’संविधान जारी भएको एक दशकमा विभिन्न सुधारका प्रयास गरिएको उल्लेख गर्दै प्रचण्डले सरकारमा रहँदा एक वर्षभित्र पाँच लाख भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने नीति तथा बजेट ल्याइएको स्मरण गराए। त्यसका लागि कानुन संशोधन गरिए पनि सरकारबाट बाहिरिएपछि कार्यक्रम रोकिएको उनको भनाइ थियो।

विदेशबाट फर्केका युवालाई लक्षित उद्यमशीलता कार्यक्रमले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै प्रचण्डले अबको युद्ध ‘उत्पादनको युद्ध’ हुने बताए।

स्टार्टअप कार्यक्रमलाई कार्यकर्ता पोस्ने माध्यम बनाइएको आरोप लगाउँदै उनले सूचना प्रविधि, पर्यटन, कृषिलगायतका क्षेत्रमा आगामी पाँच वर्षभित्र २० लाखभन्दा बढी रोजगारी र स्वरोजगारी सिर्जना गर्न सकिने दाबी गरे।

सम्बन्धित समाचार