कञ्चनपुर,२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा अहिलेसम्म पनि राजनीतिक दल तथा तिनका उम्मेदवारले चुनावी एजेन्डा ल्याएका छैनन्। ल्याए पनि चुनावी एजेन्डा सार्वजनिक रूपमा घोषणा गरेका छैनन् ।
कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा थुप्रै समस्या भए पनि अहिलेसम्म पुराना दल, तिनका उम्मेदवारले उक्त विषयमा समाधान गर्ने मौखिक आश्वासन मात्रै दिइरहेका छन् । तर, जिल्लाको दक्षिणी भेग क्षेत्र १ का मतदाताले अझै पनि भौतिक पूर्वाधार, विकास निर्माण, बाढी नियन्त्रण, सीमा समस्या समाधान, सीमा क्षेत्रमा बस्ने जनतालाई बैंकले लालपुर्जा हुँदा पनि ऋण नदिने समस्या, भन्सार, कृषि, शिक्षा, स्वास्थ्यसहितका विविध समस्याबारे विगतदेखि नै माग गर्दै आएका छन् ।
तर, कैलाली–कञ्चनपुर जोड्ने हुलाकी राजमार्गको विकल्पमा बेलडाँडी–बेलौरी जोड्ने महाकाली सिँचाइ नहरकै सडक स्तरोन्नति (कालोपत्रे)का लागि मतदातले चुनावी एजेन्डा बनाइरहेका छन् । बेलडाँडी–बेलौरीको दक्षिणी भूगोल भएर हुलाकी सडक भए पनि बेलौरी– ८, पचुईमा भारतीय पक्षले सात वर्षदेखि निर्माण कार्य अवरोध गरेको विषयलाई लिएर अहिलेसम्म समाधान हुन नसकेको अवस्थामा बेलडाँडी–बेलौरी जोड्ने उत्तरी महाकाली सिँचाइको नहर कालोपत्रेको माग गरिरहेका छन ।
किसानलाई सिँचाइसँगै यातायातका लागि समेत उक्त सडक वैकल्पिक सडकको रूपमा प्रयोग गर्न आग्रह गरिरहेका छन् । बेलडाँडी गाउँपालिका– २, कालिकिचदेखि झर्नासागर–कुण्डा हात्तीभोजा हुँदै बेलौरी पालिका मुकाम जोड्ने उक्त सडक कालोपत्रेको माग अघि सारिरहेका हुन् ।झन्डै २०–२२ किलोमिटर नहरलाई सडक कायम गराएर स्थानीयलाई यातायातको सुविधा दिलाउने उम्मेदवारलाई मत दिने घोषणा गरिरहेका छन् । क्षेत्र १ का स्थानीय युवा दीपेन्द्रसिंह धामीले बेलौरी–बेलडाँडी जोड्ने महाकाली सिँचाइ नहरको सडक यातायातकै रूपमा विकसित गराउनुपर्ने बताए ।
उनले अहिले कुण्डा खोलामा पुल निर्माण भइसकेको र हात्तीबोझा खोलामा पनि पुल निर्माण भएको अवस्थामा सडक स्तरोन्नति गर्नसमेत सहज हुने बताए ।‘यो सिँचाइको सडक एक हिसाबले आवतजावतका लागि चलनचल्तीकै छ,’ उनले भने, ‘यसलाई अब थप स्तरीय बनाउनुपर्छ ।’ दुवै पालिकाको उत्तरी भेगका जनता प्रत्यक्षदेखि अन्य यात्रुसमेत यसबाट लाभान्वित हुनेछन् ।
सिँचाइ नहर सडकछेउमै रहेका बेलडाँडी– २, कालिकिचका रोहन लुहारले बेलडाँडी–बेलौरी दुई पालिका प्रत्यक्ष जोड्ने उत्तरी भेगको सडक स्तरोन्नति भएसँगै क्षेत्रका चारै पालिकाका जनतालाई सहज हुने बताए । ‘महेन्द्रनगरदेखि बेलडाँडी भएर बेलौरी, लालझाडी र पुनर्वाससहित धनगढी गन्तव्यमा जाने सर्वसाधारण यात्रुलाई पनि सुविधा हुन्छ,’ उनले भने, ‘बेलडाँडीका जनतालाई बेलौरी भएर धनगढीसहितका अन्य गन्तव्यका लागि सुविधा हुन्छ।
बर्खाका बेला हुलाकी राजमार्ग कतै भत्किँदा, बाढीले समस्या गर्दासमेत वैकल्पिक राजमार्गका रूपमा यही सडक उपयुक्त हुने भएकाले अब यो सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाउने दल, तिनका उम्मेदवारलाई सघाउँछौँ ।’ बेलडाँडी– १, झर्नासागरका प्रवेश रानाले पनि उत्तरी भेगका सर्वसाधारणको दैनिक हिँडडुल गर्ने यही सिँचाइ सडक कालोपत्रे भए थप यातायातमा सुविधा हुने बताए ।
‘हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने यो सिँचाइ सडकछेउछाउका सर्वसाधारण पनि मारमा परेका छन्,’ उनले भने, ‘यो रणनीतिक सडकलाई यथाशीघ्र कालोपत्रे गर्नुपर्छ, कुनै दल, उम्मेदवारले चुनावी एजेन्डा नल्याए हामी मान्दैनौँ, जनताका आधारभूत मागका लागि पहल नगर्ने उम्मेदवार र दल हामीलाई किन चाहियो ?’ बेलौरी नगरपालिका– ९ कुण्डाका बल्लु चौधरीले कुण्डा खोलामा पुल निर्माण भइसकेको अवस्थामा अब आफूहरूलाई सहजै बेलडाँडी भएर महेन्द्रनगर जिल्ला मुकाम जाने सुविधा भएकाले उक्त सडक कालोपत्रे गर्नुको विकल्प नभएको बताए ।
‘यो किसानका लागि पनि खुसीको कुरा हो,’ उनले भने, ‘पहाडको जस्तो सडक काट्नु छैन, भनेको बेसमा कालोपत्रे मात्रै हो ।’ बेलौरी नगरपालिका– ६ हात्तीबोजाका भूपेन्द्र बडायतले बेलौरी बजारदेखि कुण्डा झर्नासागर भएर कालिकिच हुलाकी सडक जोड्ने यो सडक क्षेत्रको विकासमा समेत टेवा पुग्ने बताए ।
‘बेलौरीदेखि जिल्ला मुकाम जान कलुवापुर सडक शुक्लाफाँटा निकुञ्जले चान्देवमा कालोपत्रे गर्न दिएको छैन, त्यस्तै कैलालीको धनगढी कञ्चनपुरको महेन्द्रनगर जोड्ने हुलाकी सडक पनि भारतीय पक्षले पहुँचमा कालोपत्रे गर्न दिएको छैन,’ उनले भने, ‘दुवै ठुला सडकमा अवरोध कहिलेसम्म हुन्छ, थाहै भएन, यो अवरोधविहीन सडक यथाशीघ्र कालोपत्रे गर्नुपर्छ ।
उक्त सडक कालोपत्रे भएपछि यस क्षेत्रका किसानलाई खेतदेखि दुवै चिनी उद्योगसम्म सहजै उखुदेखि कृषि उपज ओसार्न सहज हुनेछ ।
क्षेत्र १ को उक्त महाकाली सिँचाइ नहर क्षेत्रका बेलडाँडी– २ कालिकिचदेखि बेलौरी– ६, हात्तीबोजासम्मका जनताले उक्त नहर सडकमा कायम गराएर आगामी आर्थिक वर्ष ०८३/८४ मा निर्माण हुने गरेर स्तरोन्नति (कालोपत्रे) गर्ने एजेन्डा ल्याउने उम्मेदवार दललाई साथ दिने नल्याउनेलाई मत माग्न घरदैलोमा नआउनसमेत अनुरोध गरिरहेका छन् ।
उक्त सिँचाइ सडकछेउमै रहेका स्थानीयले यथाशीघ्र सडक सुधारको माग गर्दै आएका छन् । जनताले आफ्ना उम्मेदवारबाट उस्तै साझा विकास निर्माण सहज यातायातको अपेक्षा गर्दै आएपछि पूरा नहुँदा मतदाता (जनता) दलप्रति असन्तुष्ट मात्रै होइन विश्वास पनि गर्न छाडेका छन् ।

